गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिदै
पोखरा । गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव टेबुल भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाऊँ भनी प्रस्ताव पेस गर्नुभएको हो ।
उहाँ एक स्वतन्त्र सांसद र चार दलको गठबन्धनबाट जेठ २९ मा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
यसरी बन्ने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । जेठ २७ मा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा पोखरेल मुख्यमन्त्री बन्नुभयो ।
गठबन्धनको सरकार भएकाले उहाँसँगै नियुक्त चार मन्त्रीको जिम्मेवारी पनि तोकिएको छैन ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा अहिले ५९ सांसद छन् । मुख्यमन्त्रीलाई विश्वासको मत पाउन ३० सांसदको मत आवश्यक पर्छ ।
