इटाली र डेनमार्क क्वाटरफाइनलमा

maitrinews

 

लन्डन । सब्स्टिच्युट फेडेरिको चिसा र माटिओ पेसिनाले अतिरिक्त समयमा गरेको गोलमा इटालीले शनिबार अस्ट्रियालाई २–१ ले हराएर युरो २०२० को क्वार्टरफाइनल प्रवेश गरेको छ ।

दुवै टिम वेम्बलीमा भएको खेलको निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीको स्थितिमा थिए । चिसाले ९५औं मिनेटमा पहिलो गोल गरेपछि पेसिनाले १ सय ५औं मिनेटमा दोस्रो गोल थपे । अस्ट्रियाका तर्फबाट सासाले एक गोल फर्काए ।

अब इटालीले सेमिफाइनल प्रवेशका लागि आइतबार बेल्जियम र पोर्चुगलबीच हुने खेलको विजेताको सामना गर्नेछ । रोममा भएका समूह ‘ए’ का तीनै खेल जितेको इटालीले यसपल्टको प्रतियोगितामा घर बाहिर खेलेको यो पहिलोपल्ट हो ।

अस्ट्रियाका मार्को अर्नुटोभिचले ६५औं मिनेटमा गोल गरे पनि ‘भार’ ले त्यसलाई मान्यता दिएको थिएन । यस कठिन जितसँगै इटालीको अपराजित यात्राको कीर्तिमान ३१ खेल पुगेको छ ।

इटाली सन् १९३५ देखि १९३९ मा ३० खेलसम्म अपराजित थियो । अहिलेको इटाली भने सन् २०१८ को यूईएफए नेसन्स लिगमा पोर्चुगलको हातबाट अन्तिम पटक पराजित भएको थियो ।

त्यसैगरी पहिलो खेलमा क्रिस्टियन एरिक्सन मैदानमै हृदयाघात भएर खेल्न नसक्ने भए पनि डेनमार्कले त्यसयता प्रभावशाली डेनमार्क युरो २०२० को क्वाटरफाइनल पुग्ने पहिलो टोली बनेको छ । डेनमार्कले शनिबार वेल्सलाई ४–० ले पराजित गरेको हो । ५ वर्षअघि फ्रान्समा भएको प्रतियोगिताको पछिल्लो संस्करण सेमिफाइनल पुगेको वेल्सलाई डेनमार्कले कुनै अवसर दिएन । वेल्सले प्रमुख प्रतियोगिता खेलेको यो केवल तेस्रो अवसरमात्र हो ।

पहिलो दुई खेलमा पराजित डेनमार्कले पछिल्ला दुई खेलमा समान ४ गोल गर्दै अन्तिम आठमा पुगेको हो । डेनमार्कले सेमिफाइनलमा स्थान पाउन नेदरल्यान्ड्स र चेक गणतन्त्रबीचको विजेतासँग अजरबैजानको बाकुमा शनिबार खेल्ने छ । डच र चेकले आइतबार खेल्नेछन् ।

फिनल्यान्डसँगको पहिलो खेलमा आफ्ना स्टार खेलाडी क्रिस्टियन एरिक्सन मैदानमै हृदयघात भएर खेल्न नसक्ने भए पनि डेनमार्कले त्यसयता प्रभावशाली प्रदर्शन गर्दै आएको छ ।

डेनमार्कले समूह चरणको सबै खेल कोपेनहेगनमा खेलेको थियो । यो पहिलो खेल थियो, टोलीले विदेशी भूमिमा खेलिरहेको थियो । कास्पर डोलबर्गका लागि भने यो घरेलु मैदानसरह थियो । युथ एकेडेमीदेखि सुरुआती वर्ष अयाक्सबाट खेलेका उनले योहान क्राएफ एरिनामा २७ औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट सानदार गोल गर्दै डेनमार्कको खाता खोलेका थिए । रंगशालामा उपस्थित १६ हजारमध्ये ५ हजार डेनिस समर्थक थिए, त्यसले पनि डेनमार्कलाई घरैमा खेलेजस्तो अनुभूति भएको थियो ।

कोनर रोबर्टस घाइते भएपछि ४० औं मिनेटमा मैदानमा आएका निको विलियम्सले गरेको गल्तीमा डोलबर्ग नै ४८ औं मिनेटमा दोस्रो गोल गर्न सफल भए । विलियम्सले गरेको क्लियर डोलबर्गको खुट्टामा परेपछि उनले त्यसमा कुनै गल्ती गरेनन् । जोकिम महेलेले ८८ औं मिनेटमा तेस्रो गोल गरे । वेल्सका अर्का वैकल्पिक खेलाडी ह्यारी विल्सनले ९० औं मिनेटमा सिधा रेडकार्ड पाए । इन्ज्युरी समयको चौथो मिनेटमा बार्सिलोनाका स्ट्राइकर मार्टिन ब्रेथवेटले चौथो गोल गरेर खेल टुंग्याएका थिए ।