राजदूत डा. शाक्यले ईजरायलबाट करीब २० करोडका स्वास्थ्य सामाग्रीहरु काठमाडौं पठाए

maitrinews

काठमाडौँ । ईजरायलका लागि नेपालकी राजदूत डा. अन्जान शाक्यले नेपालमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्री तथा उपकरणहरु नेपाल पठाउनु भयो । आज विहिवार विहान ११.१० बजे नेपाल एअरलाईन्सको चार्टड फ्लाईटबाट उक्त सामग्रीहरु काठमाडौं आईपुगेको छ । उक्त स्वास्थय सामग्रीहरु इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र, इजरायलीहरु, नेपालीदूतावास परिवार र इजरायलमा रहेका नेपालीहरुबाट सहयोग स्वरुप दिएका हुन् ।

राजदूत डा. शाक्यका अनुसार करीब २० करोड रुपैंया जति अनुमानित मूल्य पर्ने उक्त स्वास्थ्य सामग्रीको तौल भने करीब १८ टन जति रहेको छ । ती सामग्रीहरुमा ५८ थान भेन्टिलेटर, १२० थान अक्सिजन कन्सन्ट्रेटर, आइसीयुसँग सम्बन्धित उपकरण, मोबाईल कोरोना टेष्टिगं ल्याबका उपकरणहरु, औषधि, पिसिआर तथा एन्टीजेन टेष्टिगं किट, पीपीई, थर्मल गन लगायतका कोरोनाको उपचारसँग सम्बन्धित विभिन्न सामग्री तथा उपकरणहरु रहेका छन् । इजरायलमा नेपाली ध्वजाबाहक हवाईजहाज अ‍ौपचारिक रुपमै इतिहासमै पहिलो पटक अवतरण भएको हो । क्यापटेन विजयलामाको नेतृत्वको टिमले नेपाल एअरलाईन्सको एअरबस ३३२ पहिलो पटक टेल अभिभको बेन गुरियन इन्टरनेशनल एअरपोर्टमा अवतरण गराएका हुन् ।

‘कोभिड—१९ सँग सम्बन्धी ईजरायलले अपनाएको उपचार पद्धतिका बारेमा नेपाललाई सहयोग गर्न नेपाल सरकारसँगको समन्वयमा ‘स्मार्ट कोभिड कमाण्ड कन्ट्रोल रुम’ स्थापना गर्न Monday.com नामक संस्थाले सफ्टवेयर तथा आवश्यक उपकरणहरु समेत पठाएको राजदूत डा. शाक्यले बताउनु भयो । यसकालागि Monday.com का प्राविधक विज्ञहरुले नेपालको सिसिएमसीसँग जुम मिटिगं मार्फत आवश्यक परामर्श दिन थालिसकेको बुझिएको छ । यस अघि पनि राजदूत शाक्यको पहलमा नेपालका लागि ईजरालका तर्फबाट कोभिडसंग सम्बन्धित विभिन्न सहयोगहरु जुटाउन उल्लेख्य भूमिका रहँदै आएको थियो ।


‘ईजरायलमा भर्खरै मात्र सरकार परिवर्तन भई नयाँ प्रधानमन्त्री नियुक्त भएको तथा ईजरायलमा नयाँ सरकार बनेको अवस्था छ,’  डा. शाक्यले भन्नुभयो, ‘ईजरायलमा यूद्ध चलिरहेको र अस्थायी यूद्धविराम भए पनि छिटपुट युद्ध भइरहेको अवस्था छ । यस्तो प्रतिकुल अवस्थामा पनि नेपालका लागि सहयोग गर्ने अवसर पाउँदा खुशी लागेको छ । यो सहयोग जुटाउन सहयोग गर्ने इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र, इजरायलीहरु, नेपालीदूतावास परिवार र इजरायलमा रहेका नेपाली सबैलाई धन्यवाद भन्न चाहन्छु ।’


विश्वमा पहिलो ‘मास्क फ्रि’ देशका रुपमा ईजरायलले घोषणा गरेको थियो । ईजरायलमा कोरोना करीब करीब नियन्त्रणमा आइसकेको र त्यहाँका जनताले मास्क लगाएर हिंड्नु नपर्ने अवस्था छ ।