दक्षिण अफ्रिकामा हिंसा चर्कियो, ७२ जनाको मृत्यु

 

दक्षिण अफ्रिका । पूर्वराष्ट्रपति जेकब जुमा जेल परेसँगै दक्षिण अफ्रिकाको केही भागमा सुरु भएको हिंसाकाबीच त्यहाँ मृत्यु हुनेहरूको सङ्ख्या ७२ पुगेको छ।
त्यसमा सोमवार राति सोवेटोस्थित एक सपिङ सेन्टरमा लुटपाट मच्चिएसँगै भएको भाग दौडका क्रममा मारिएका १० जना पनि समावेश छन्।

प्रहरीलाई सहयोग गर्नका लागि हाल त्यहाँ सेना परिचालन गरिएको छ।

दक्षिण अफ्रिकाको प्रहरीले एक विज्ञप्ति जारी गर्दै हिंसा भड्काएको हुन सक्ने १२ जनाको पहिचान भएको जनाएको छ। त्यस्तै १,२३४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

राष्ट्रपति सिरिल रामापोसाले दक्षिण अफ्रिकामा सन् १९९०को दशक यता देखिएको अप्रिय हिंसाका रूपमा पछिल्लो घटनालाई व्याख्या गरेका थिए।

लुटपाटका घटना जारी रहे प्रदर्शन भइरहेका क्षेत्रहरूमा खाद्य सामाग्रीहरू सकिन सक्ने मन्त्रीहरूले चेतावनी दिएका छन् तर त्यहाँ सङ्कटकाल घोषणा गर्ने सम्भावना भने नरहेको जनाइएको छ।