श्रीलंकामा चट्टाने सिंह

maitrinews

 

श्रीलंकाको भब्य राजदरबार सिंगो पहाड एउटा ढुंगोमाथि अडिएको छ। विश्वको आठौं आश्चर्य मानिदै आएको यो चट्टाने सिंह हेर्न त्यहाँ दैनिक हजारौँको संख्यामा मानिस जाने गर्छन् ।
श्रीलंकाका कतिपय स्थानीय आज पनि यसलाई पौराणिक कथामा वर्णित एक अदभूत पुरूष रावणको तत्कालीन राज्य ठान्ने गर्छन्। तर अजंगको यो चट्टानमा कुँदिएका अक्षरले फरक तथ्य र इतिहासको वर्णन गर्छन्। यही ठाउँमा एक हजार वर्ष पहिले एक कश्यप नामक शासकले आफ्नो राज्य सञ्चालन गरेका थिए। ढुंगाको शिरमा आफ्नो सुन्दर दरबार निर्माण गरेका थिए।
यहाँ सिगिरिए अर्थात् सिंहको ढुंगा अचम्म गरी आश्चर्यले भरिएको छ। श्रीलंकाको शब्दकोष अनुसार सी को अर्थ सिंह र गिरिएको अर्थ चट्टान हुन्छ। त्यसैले यसलाई ‘चट्टानको सिंह’ पनि भन्ने गरिन्छ । यो चट्टानलाई श्रीलंकाले पछिल्लो समय उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गरेको छ।
विश्वका जुनसुकै मुलुकका पर्यटक पनि यो चट्टानमाथि चढ्न अत्यान्त लालायित र रोमाञ्चित हुन्छन्। यही सिगिरिएबाट मात्रै श्रीलंका सरकारले वार्षिक करोडौँ आम्दानी गर्दै आएको छ।

सिगिरिए चट्टान पूर्वतर्फ कुँदिएको सिंहको अगाडिका दुई खुट्टाको आकर्षक चित्र जीवन्त छ। सिंहका पञ्जाका नङ्ग्राहरू प्रवेशद्वारमै कुँदेर तत्कालीन शासकले आफूलाई सिंह जस्तै बलसाली देखाउन खोजेको हुनसक्छ।
प्रवेशद्वारको दुबैतर्फ ढुंगामा कुँदिएको सिंहका खुट्टाको त्यही आकृतिका कारण यसलाई ‘लायन रक’ को नामबाट चिन्ने गरिन्छ। ती खुट्टाबाहेक माथिको भीमकाय चट्टान पूरै भाग सिंहको शरीरसँग तुलना गरिएको छ।
जहाँ सिंह आफ्ना अगाडिका दुबै पञ्जा फिँजारेर निर्धक्क पहाडबाट नियालिरहेझैं देखिन्छ। इतिहासले भरिपूर्ण यो प्राचीन कलाकृतिले विभिन्न रहस्य बोकेको छ।