अमेरिकी ड्रोन आक्रमणमा आइएस के समूहका योजनाकारको मृत्यु

 

काबुल । अमेरिकी सेनाले अफगानिस्तानमा रहेको इस्लामीक स्टेट समूहविरुद्ध हवाई आक्रमण गरेको जनाएको छ।

अधिकारीहरूले काबुल विमानस्थलमा १७० जनाको ज्यान लिने गरी गरिएको हमलाको योजनाकारलाई निशाना बनाइएको जनाएका छन्।

अमेरिकाले नाङ्घहार प्रान्तमा गरिएको सो हमलामा एउटा ड्रोनको प्रयोग गरिएको र त्यसले इस्लामीक स्टेटका सदस्यलाई मारेको उल्लेख गरेको छ।

काबुलमा रहेका अमेरिकी अधिकारीहरूले थप आक्रमणहरूलाई ध्यान दिँदै विमानस्थलको प्रमुख क्षेत्रहरूभन्दा परै बस्न नयाँ चेतावनी जारी गरेका छन्।

वरिष्ठ तालिबान अधिकारीहरूले उनीहरूले काबुल विमानस्थलको मुख्य भाग नियन्त्रणमा लिएको र अमेरिकीहरू जाने बित्तिकै सम्पूर्ण विमानस्थल कब्जामा लिने बताएका छन्।

अमेरिकाले अन्तिम समयसम्म अफगानहरूको उद्धार जारी राख्ने र विमानस्थल अझै पनि आफ्ना फौजको नियन्त्रणमा रहेको बताइरहेको छ।