अफगानिस्तानलाई एक अर्ब डलर बढी सहयोग

maitrinews

 

जेनेभा । विभिन्न मुलुक र दातृ निकायले भोकमरी र गरिबीको चपेटा परेको अफगानिस्तानलाई १ अर्ब डलर बढी सहयोग गर्ने वाचा गरेका छन्।

संयुक्त राष्ट्रसंघले गरेको दाता सम्मेलनमा विभिन्न देश र अन्तर्राष्ट्रिय संघ संस्थाले एक अर्ब १ बढी डलर सहयोगको प्रतिवद्धता व्यक्त गरेका हुन् ।

सोमबार जेनेभामा भएको सम्मेलनको सुरूमा बोल्दै राष्ट्रसंघका महासचिव एन्टोनिओ गुतर्रेसले दशकौंको युद्ध, पीडा र असुरक्षा भोगेका अफगानहरूले अहिले सबैभन्दा कठिन समय बिताइरहेको र अहिले उनीहरूलाई लाइफलाइनको आवश्यकता भएको बताएका थिए।

‘आर्थिक प्रणाली अहिले निकै सीमित भएको छ यसको अर्थ एकदमै आधारभूत आर्थिक क्रियाकलाप हुन सकेका छैनन्,’ गुतर्रेसले भने।

विश्व खाद्य कार्यक्रमले अफगानिस्तानमा सेप्टेम्बर अन्त्यसम्म आफूले सञ्चित गरेको खाद्यान्न सकिने र झन्डै १ करोड ४० अफगानले दुई छाक खान नपाउने अवस्था आउन सक्ने चेतावनी दिएको छ।

२० वर्षसम्म तालिबानविरूद्ध युद्ध लडेको अमेरिकाले मानवीय सहायताका लागि अफगानिस्तानलाई ६ करोड ४० लाख डलर दिने वाचा गरेको छ।

फ्रान्सले ११ करोड ८० लाख डलर सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।

अफगानिस्तानका छिमेकी चीन र पाकिस्तानले यसअघि नै सहयोग गर्ने बताइसकेका छन्।

गत बुधबार अफगानिस्तानका छिमेकी देशका विदेश मन्त्रीहरूबीच भर्चुअल छलफल भएको थियो। सो छलफलमा चिनियाँ विदेश मन्त्री वाङ यीले अफगानिस्तानलाई ३ करोड १० लाख अमेरिकी डलर बराबरको खाद्यान्नसमेतको सहयोग गर्ने घोषणा गरेको ग्लोबल टाइम्सले जनाएको छ। विदेश मन्त्री वाङले अफगानिस्तानलाई कोरोना महामारीविरूद्ध लड्न अरू स्वास्थ्य सामग्रीसहित ३० लाख डोज भ्याक्सिन पनि दिने बताएका छन्।

अफगानिस्तानका छिमेकी देशहरू पाकिस्तान, इरान, ताजिकिस्तान, उज्वेकस्तान, तुर्कमेनिस्तान र चीनका विदेश मन्त्रीबीचको छलफल पाकिस्तानले आयोजना गरेको थियो।

पाकिस्तानले अफगानिस्तानमा सैनिक जहाजमार्फत् खाद्यान्न सामग्री पठाउन सुरू गरिसकेको छ।