माधवसहित १४ सांसदलाई पदमुक्त नगरेसम्म एमालेले संसद चल्न नदिने

maitrinews

 

काठमाडौँ । नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदमाथि गरेको कारबाहीको सूचना सभामुख अग्निप्रसाद सापकोटाले नटाँसेसम्म संसद चल्न नदिने अडान लिएको छ।

सभामुख सापकोटाले प्रमुख प्रतिपक्ष दलको माग सम्बोधन नगरेको भन्दै एमालले मंगलबार पनि प्रतिनिधिसभा बैठकमा अवरोध गरेको छ ।

सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा अनुपस्थित एमालेले पदमुक्त सांसदको सूचना टाँस गर्नुपर्ने अडान लिएको छ।

यदि सूचना टाँस नगरे सभामुख सापकोटाले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने सर्तसहित मंगलबार पनि प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने भएको हो।

एमालेले नेकपा एकीकृत समाजवमादीका अध्यक्ष बनिसकेका नेपालसहित १४ जना सांसदलाई पदमुक्त गरेर कारबाही गरेको पत्र संघीय संसद सचिवालयमा दर्ता गरे पनि सभामुखले अल्झाइदिएका थिए।

सभामुख सापकोटाले १३ दिनसम्म सूचना टाँस नगर्दा पार्टी विभाजन भएको कुरा एमालेले बताउँदै आएको छ।

‘एमालेको निर्णयअनुसार १४ सांसदलाई सभामुखज्यूले अझै पदमुक्तको सुचना टाँस गर्नु भएको छैन, सुचना टाँस नगर्ने भए राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने अडान कायमै छ,’ प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘दुई सर्त स्वीकार नगरेसम्म एमालले प्रतिनिधिसभा बैठकमा निरन्तर रुपमा अवरोध गरिरहनेछ।’