न्यानोपनाको खोजलाई चिकित्सातर्फको नोबेल

maitrinews

 

स्टकहोम । घामको वा माया गर्ने मानिसको अँगालोको न्यानोपना हाम्रो शरीरले कसरी महसुस गर्छ भनेर पत्ता लगाउने दुई वैज्ञानिकहरूले सन् २०२१ का लागि चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार जितेका छन् ।

अमेरिकी वैज्ञानिकद्वय डेभिड जुलियस र आर्डेम पटापौटियनले शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियाबारे अध्ययन गरे । हाम्रो शरीरले स्पर्शलाई कसरी स्नायु प्रणालीमा विद्युतीय सन्देश दिन्छ भन्ने विषयमा उनीहरूले पत्ता लगाएको तथ्यले न्यानोपनबारे अध्ययनको बाटो फराकिलो बनाएको छ । जुलियस र पटापौटियनको खोज मानिसमा दुखाइ अन्त्य गर्ने उपचारका लागि महत्त्वपूर्ण हुने बीबीसीले उल्लेख गरेको छ । मानिसले आफू बाँच्न र अनुभव लिनका लागि तातो, चिसो र स्पर्श अपरिहार्य छन् । तर हाम्रो शरीरले त्यसलाई कसरी परिस्थितिअनुसार ग्रहण गर्छ भन्ने जीव विज्ञानका लागि एउटा रहस्यजस्तै थियो ।

सानफ्रान्सिस्कोस्थित क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक जुलियसले हामीले पिरो खुर्सानी खाँदा किन पोलेको महसुस गर्छौं भन्ने विषयमा अध्ययन गरेका थिए । उनले खुर्सानीलाई पिरो बनाउने रसायन ‘कप्साइसिन’ बारे अध्ययन गर्दै मानिसको शरीरका कोषमा रहेको

एक विशेष प्रकारको अंशले कप्साइसिनसँग प्रतिक्रिया गर्दा हामीलाई पोल्ने पत्ता लगाए । त्यसका साथै कोषको त्यही अंशले तापक्रमसँग पनि प्रतिक्रिया जनाउने र पोल्ने तापक्रम हुँदा अझै सक्रिय बन्ने उनको अनुसन्धानमा देखिएको छ ।

त्यस्तै तातो चिया रहेको कपमा औंला राख्दा यही अंश सक्रिय हुने भएकाले पोलेको अनुभव हुने पनि उनले पत्ता लगाएका हुन् । जुलियसको खोजपछि तापक्रमसँग प्रतिक्रिया जनाउने अन्य कोषका अंशबारे पनि खोजी सुरु भएको थियो । फलस्वरूप वैज्ञानिकद्वयले चिसो हुँदा सक्रिय हुने कोषको अंश पनि पत्ता लगाए ।

लेबनानबाट अमेरिका बसाईं सरेपछि स्क्रिप्स अनुसन्धान संस्थामा कार्यरत वैज्ञानिक पटापौटियनले फरक खालका तर कुनै भौतिक दबाब वा स्पर्शका कारण सक्रिय हुने कोषको अंशसमेत पत्ता लगाएका हुन् । त्यस्ता अंशले हाम्रो दिमागमा संकेत पठाएका कारण समुद्र वा खोला किनारमा हिँड्दा पैतालामुनि बालुवा रहेको अनुभव हुने गर्छ ।

नोबेल पुरस्कार कमिटिका थोमस पर्लम्यानले ‘वैज्ञानिकद्वयको खोज निकै महत्त्वपूर्ण र गहन’ भएको बताएका छन् । पुरस्कार कमिटीले जुलियस र पटापौटियनको कार्यले ‘हामीलाई हाम्रो स्नायु प्रणालीले कसरी तातो, चिसो वा भौतिक दबाब अनुभव गर्न र त्यसका आधारमा वातावरण घुलमिल हुन सघाउँछ भन्ने देखाएको’ जनाएको छ । वैज्ञानिकद्वयले एक करोड स्विडिस क्रोनर प्राप्त गर्नेछन् । नोबेल फाउन्डेसनले कोभिड–१९ महामारीका कारण यस वर्ष विज्ञान र साहित्यतर्फका विजेतालाई आफ्नै देशमा पुरस्कार प्राप्त गर्ने व्यवस्था मिलाइएको जनाएको छ । नोबेल शान्ति पुरस्कारबारे भने केही उल्लेख गरिएको छैन ।

नोबेल पुरस्कार विजेताहरूको घोषणा सामान्यतः अक्टोबर ४ देखि ११ सम्म गरिन्छ । आज र भोलि भौतिकशास्त्र र रसायनशास्त्रतर्फको पुरस्कार घोषणा गरिनेछ भने साहित्य र शान्तितर्फ क्रमशः अक्टोबर ७ र ८ मा घोषणा गरिनेछ । स्विडेनको केन्द्रीय बैंकले स्थापना गरेको अर्थशास्त्रतर्फको पुरस्कार भने अक्टोबर ११ मा घोषणा हुनेछ ।