सुडानमा ‘कु’ को विरोधमा प्रदर्शन, सेनाले गोली चलाउँदा ७ को मृत्यु

सुडान । सुडानमा सैन्य ‘कु’ को विरोधमा प्रदर्शनमा उत्रिएकामाथि सेनाले गोली चलाउँदा ७ जनाको मृत्यु भएको छ भने करिब १४० जना घाइते भएका छन् ।

सुडानको सेनाले सोमबार अन्तरिम सरकारलाई अपदस्थ गर्दै मुलुकको सत्ता हातमा लिएको थियो । साथै सेनाले संकटकाल घोषणा गर्दै प्रधानमन्त्री अब्दुल्लाह हमदोक र अन्य नेतालाई गिरफ्तार गरेको छ ।

सैन्य कुको विरोधमा प्रदर्शनकारी सडकमा उत्रिएका छन् । राजधानी खार्तुमका सडकमा आएका प्रदर्शनकारीलाई पक्राउ गर्न सेना घर–घरमा गएको बताइएको छ । विश्वका विभिन्न मुलुकले सुडानको सैन्य कुको आलोचना गरेका छन् । यसैबीच अमेरिकाले पनि सुडानलाई दिने भनेको ७० करोड अमेरिकी डलर सहयोग रोकेको छ ।

सेना प्रमुख जनरल अब्देल फतह अल बुरहानले राजनीतिक झगडाका कारण सैन्य कारबाही गरिएको बताएका छन् । सन् २०१९ मा राष्ट्रपति उमर अल बशिरलाई सत्ताबाट हटाएसँगै त्यहाँको राजनीतिक नेतृत्व र सैनिक अधिकारीबीच मनमुटाव देखिँदै आएको थियो ।