प्रदूषण बढेपछि नयाँदिल्लीका स्कुल कलेज बन्द

maitrinews

 

काठमाडौं । ​हरेक सालझैं यो महिना भारतको राजधानी नयाँदिल्लीका स्कुल र कलेजका विद्यार्थी छुट्टिमा छन्। यो छुट्टि कुनै चाडपर्व वा उत्सव मनाउन दिइएको होइन, प्रदूषणबाट बच्न हो।

केही दिनयता दिल्लीको आकाश ‘विषालु’ तुँवालोले ढाकेर प्रदूषित भएको छ। स्वास्थ्य जोखिम बढेको भन्दै राज्य सरकारले नै स्कुल विदा दिने निर्णय गरेको हो। हिन्दुस्तान टाइम्सका अनुसार अर्को आदेश नआउन्जेल विद्यार्थीहरू स्कुल(कलेज जान पाउने छैनन् ।

त्यस्तै २१ नोभेम्बरसम्म यहाँ ट्रकहरूलाई प्रवेश निषेध छ भने सरकारी कार्यालयहरू पनि आधा कर्मचारी मात्र राखेर चलाउन भनिएको छ। निजी कार्यालयहरूलाई भने आफैं निधो गर्न छुट दिइएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

यसबाहेक यहाँ जेनेरेटर चलाउन मनाही छ। केही अत्यावश्यकलाई छाडेर कोइलाबाट चल्ने अधिकांश कारखाना बन्द गरिएको छ।
दिल्लीमा गत तिहारपछि तुँवालो यति बाक्लो भएको छ, गाडी चलाउँदा दुई–तीन मिटर दुरीकै दृश्य देखिँदैन। तिहारपछि संसारकै बढी प्रदूषित वायु भएको सहर बनेको दिल्लीमा प्रदूषणको मात्राले खतराको तह पार गरिसकेको छ।

यहाँ रूघाखोकी तथा फोक्सोसम्बन्धी बिरामीको संख्या बढेको छ। तीन दशकदेखि दिल्लीमा कार्यरत छातीका डाक्टर अर्विन्द कुमारले धूमपान नगर्ने मान्छेको पनि फोक्सो गुलाबी हुन छाडेको बताएका छन्।

‘दिल्लीका आधाभन्दा बढी वयष्क जनसंख्यामा फोक्सोको समस्याका लक्षण देखिएको छ,’ डाक्टर कुमारका भनाइ उद्धृत गर्दै हिन्दुस्तान टाइम्स लेख्छ, ‘बच्चाहरू पनि छातीको समस्याबाट ग्रसित छन्।’

दिल्लीको यो प्रदूषण कति भयानक छ भने, धेरैले यसलाई ग्यास च्याम्बर भन्न थालेका छन्। पोहोर(परारै त्यहाँका मुख्यमन्त्रीले दिल्ली ग्यास च्याम्बर भएको बताएका थिए।

यो विषालु तुँवालो दिल्लीमा नयाँ होइन। हरेक वर्ष यो याममा छिमेकी राज्यमा बाली जलाउँदा निस्कने धुँवाले दिल्लीको हावा प्रदूषित हुन्छ। बाली लगाएका खेतबारी सफा गर्न जलाउने चलन परम्परागत हो। भर्खरै सकिएको तिहारमा पड्काइने पटाकाले पनि वातावरण प्रभावित पारेको विज्ञ बताउँछन्।

यस वर्ष समस्या अझै उत्कर्षमै पुगेको छ।

डाक्टर कुमारका अनुसार अचेल त प्रदूषणका कारण फोक्सोसहित दिमाग, मुटु र अन्य अंगहरूमा पनि समस्या देखिन थालेको छ। सरकारले चालेका कदममा असन्तुष्टि जनाउँदै उनी यसको दीर्घकालीन उपाय खोज्नतर्फ लाग्नुपर्ने बताउँछन्।

ुप्रदूषणले कोरोनाले भन्दा बढी मान्छेको ज्यान लिइसकेको छ। तर यसमा दिनुपर्ने जति ध्यान दिइएको छैन,ु उनले भने।

राजधानी दिल्लीको प्रदूषण नियन्त्रण गर्न वर्षौंदेखि नै अधिकारीहरूलाई सकस परिरहेको छ। यस वर्ष तिहारमा पटाका पड्काउन प्रतिबन्ध गरे पनि खासै प्रभावकारी हुन सकिरहेको छैन। त्यसमाथि बालीमा लगाइने अवैध आगलागीले तुँवालोको मात्रा बढाउँछ।

प्रदूषण बढ्नुको कारण आगलागी मात्र होइन। सवारीसाधन र उद्योगबाट निस्कने धुँवाका साथै फोहोरमैला जलाउँदा निस्कने धुँवाले पनि हावा जोखिमपूर्ण बनाएको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले जनाएको छ। चिसो मौसमका कारण पनि प्रदूषण बढेको हो।