१०५ अंकले बढ्यो सेयर बजार
काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार उच्च अंकले बढेको छ । १०५।५५ अंकले बजारको परिसूचक नेप्से बढेसँगै २८८५ अंकमा कायम भएको छ । कारोबार रकममा पनि सुधार आएको छ । दिनभर ६ अर्ब ३२ करोड रुपैयाँको कारोबार भयो । यसअघि गत बिहीबार जम्मा ३ अर्ब ३४ करोडको मात्रै कारोबार भएको थियो ।
स्थानीय तहको चुनाव जेठमा हुने चर्चाले आइतबार बजारमा सकारात्मक वातावरण बनेको हो । यसअघि शनिबार मात्रै सत्तारुढ गठबन्धनको बैठकमा जेठमा स्थानीय तहको चुनाव गर्ने सहमति जुटेको छ । गत साता ४ दिन बजार घट्दा एक दिन मात्रै बढेको थियो ।
आइतबार सबै उपसमूह बढेका छन् । बैंकिङ ४६, विकास बैंक ३१८, फाइनान्स १५२, होटल तथा पर्यटन १४१, जलविद्युत १८२, लगानी ५, जीवन बीमा ५४८, उत्पादन १९७, लघुवित्त १७३, निर्जीवन बीमा ४३१, अन्य ८३ र व्यापार उपसमूह १४६ अंकले बढे ।
कुल १९० कम्पनीको मूल्य बढ्यो भने एक कम्पनीको मात्रै घट्यो । ५ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । विन नेपाल लघुवित्त, लिबर्टी इनर्जी, शिवश्री हाइड्रो, निफ्रा र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । अरुणभ्याली हाइड्रोपावरको मूल्य ९ प्रतिशतले बढ्यो । अपी पावर, नेपाल टेलिकम, एचआइडीसीएल, अरुणभ्याली र माथिल्लो तामाकोसी कम्पनी कारोबार रकमका आधारमा सबैभन्दा अगाडि रहे ।