असफल बन्दै लिबिया ; आर शर्मा

maitrinews

उत्तर अफ्रिकी मुलुक लिविया अनिर्णयको बन्दी बनेको छ । त्यहाँ राजनीतिक क्रान्ति भएको एक दशक बितिसक्यो तर राजनीतिक स्थिरता र शान्ति कायम हुन सकेन । सन् २०११ को वसन्त क्रान्तिमा ४२ वर्ष शासन गरेको कर्णेल गद्दाफी मारिए । उनी मारिएसँगै त्यहाँ राजनीतिक अस्थिरता बढ्यो । क्रान्तिपछि अहिलेसम्म १३ वटा सरकार बने । कुनै पनि सरकारले राम्रो काम गर्न सकेनन् । हत्या, हिंसा र आतङ्कले जनजीवन अस्तव्यस्त बनेको छ । सरकार नाम मात्रको छ ।
गएको डिसेम्बरमा त्यहाँ आमनिर्वाचन गर्नुपर्ने थियो । व्यवस्थापना गर्न नसकेपछि निर्वाचन हुन सकेन । निर्वाचन हुन नसकेपछि सरकार र संसद्को वैधानिकतामाथि प्रश्न उठेको छ । त्यहाँ संयुक्त राष्ट्रसङ्घको मातहतमा सरकार बने । बनेका सङ्क्रमणकालीन कुनै पनि सरकारले शान्ति स्थापना गर्न र स्थिरता कायम गर्न सकेनन् । गद्दाफी समर्थक विद्रोही समूहले मुलुकको ठूलो भूभाग कब्जा गरेको छ । गृहयुद्धको अवस्थाले जनजीवन भयावह छ ।
आमनिर्वाचन गराउन नसकेपछि गएको फेबु्रअरी १० मा त्यहाँको संसद्ले माथी बशघालाई अन्तरिम प्रधानमन्त्री चयन गरेको छ । उहाँ प्रधानमन्त्री चयन भए पनि सत्ता सम्हाल्न पाउनुभएको छैन । वर्तमान प्रधानमन्त्री अब्दुल हमिद डिबेबेहले आमनिर्वाचनपछिको निर्वाचित सरकारलाईमात्र सत्ता हस्तान्तरण गर्ने अडान लिनुभएको छ । उहाँको यो अडानसँगै मुलुकमा द्वेध शासनको अवस्था बनेको छ । उहाँहरुबीच सहमति नभएकाले अवस्था झन् जटिल बन्दैछ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटरेसले सहमतिका लागि आह्वान गर्नुभएको छ । उहाँले सहमति नभए परिस्थिति अरु जटिल बन्ने सङ्केत गर्नुभएको छ ।
गद्दाफी मारिएसँगै क्रान्ति सम्पन्न भएको दाबी गरिएको लिवियाले सहज बाटो लिन सकेन । मुलुक हाँक्ने नेतृत्वको अभाव देखियो । हठी र जिद्दी स्वभावका गद्दाफी आठ महिनासम्म विदेशी सेना र स्वदेशी विद्रोही लडाकूसँग लडे । अन्ततः आन्दोलनकै क्रममा उनी बीभत्स ढङ्गले मारिए । उनी मारिएपछि जनताले राजनीतिक स्वतन्त्रता त पाए तर मुलुकले निकास पाएन । गद्दाफीपछि सक्षम नेतृत्वको अभाव, चरम गुटबन्दी र महत्वाकाङ्क्षाले गृहयुद्धमा फसेर मुलुक अस्तव्यस्त छ । हिंसा र अराजकताले सीमा नाघेको छ । गद्दाफी कालमा जनताले पाएका सारा सुविधा खोसिएका छन् । मुलुक विदेशीको क्रीडास्थल बनेको छ । राष्ट्रसङ्घीय शान्तिसेनाको घेराबन्दीभित्र राजधानी त्रिपोलीमा नाम मात्रको सरकार छ । चारैतिर विद्रोहीहरुले घेरेका छन् । कतै शान्ति छैन ।
अरब क्रान्तिको नाममा सन् २०११ को अक्टोबर २० मा गृहनगर सिर्तेमा आन्दोलनकारीले अत्यन्तै बर्बर र वीभत्स ढङ्गले गद्दाफीलाई मारे । उनी मारिएसँगै ४२ वर्षे एकलौटी सत्ताको अन्त्य त भयो तर उनको हत्या र आठ महिने आन्दोलनले राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय एकता र जातीय सदभाव नराम्ररी खलबलियो ।
लोकतन्त्र नै नदेखेका युवापुस्ताका लिवियाली सुरुमा यो सत्ता परिवर्तनबाट निकै उत्साहित भए । लोकतन्त्र आएपछि के के न पाइन्छ भनी निकै आकाङ्क्षी पनि बने । विदेशीको सहयोगमा गद्दाफीलाई सत्ताच्युतमात्र गरेनन् महान् शत्रु र महाअपराधी नै ठानेर उनलाई वीभत्स र बर्बर ढङ्गले कुटपिट गर्दै गोली ठोकर सडकमा घिसार्दै मारे । तर गद्दाफीपछि विना पूर्वाधारको लोकतन्त्ररुपी शासनले अधिकार, सुरक्षा, राहत एवं समृद्धि केही पनि दिने सकेन । आपसमै द्वन्द्व र प्रतिशोध बढाइदियो । बहुसङ्ख्यक जनताको अवस्था दुःखदायी बन्यो । न्यूनतम राहत र शान्तिबाट बञ्चित जनताले सक्षम अभिभावक पाउन सकेनन् ।
लिवियाको भूबनोट जटिल छ । धेरै भूभाग मरुभूमिले ढाकेको छ । यो मुलुक तेल खानीको धनी छ । १७ लाख ७० हजार वर्ग किमि क्षेत्रफलमा फैलिएका लिविया अटोमन, इटाली र बेलायतको उपनिवेश बन्दै सन् १९५१ मा राजा इद्रिसको नेतृत्वमा स्वतन्त्र भएको थियो । सन् १९६९ मा गद्दाफीले विनारक्तपात राजतन्त्र हटाई अफ्रिकाको गरिब, निरक्षर र विपन्न मुलुकका रुपमा रहेको लिवियाको नेतृत्व हातमा लिए । आफ्नै खालको समाजवाद भन्दै गद्दाफीले आफ्नो ४२ वर्षे एकलौटी शासन चलाए । उनको शासनकालमा मुलुकलाई अफ्रिकाको दोस्रो धनी मुलुक बनाए । प्रतिव्यक्ति आय १२ हजार डलरभन्दा माथि पुग्यो, ८० प्रतिशतभन्दा बढी मानिस शिक्षित भए, मानवसूचकाङ्क राम्रो बन्यो । तर उनले जनतालाई स्वतन्त्रताको नागरिक अधिकार दिएनन् । राजनीतिक नेतृत्व विकास गर्नेतिर नलागी छोरालाई उत्तराधिकारी बनाउनतिर लागे । जनतालाई राजनीतिक स्वतन्त्रता नदिएकाले उनकै अहंकार र जिद्दीले पुनःमुलुक तहसनहन भयो । उनकै कारण मुलुक विदेशी सन्य हस्तक्षेपको शिकार बन्यो र अन्त्यमा उनी स्वयं सर्वस्व गुमाएर मारिए । उनले अहंकार र जिद्दी नगरी जनताको परिवर्तनको चाहनालाई समयमै आत्मसात् गर्दै समयानुकूल राजनीतिक सुधार गरी लोकतान्त्रिक अभ्यासलाई स्थान दिएका भए आज मुलुक न यसरी तहननहन हुने पनि थिएन नत विदेशी हस्तक्षेपको सिकार नै ।
एउटा निरङ्कुश सत्ताले मुलुकलाई कसरी तहसनहन बनाउँछ र अन्त्यमा आफू र आफ्नो परिवार पनि कसरी समाप्त पार्छ भन्ने पछिल्लो उदाहरण बने गद्दाफी । उनको हत्यासँगसँगै एउटा ४२ वर्षे निरङ्कुश युग समाप्त भई लिविया नयाँ चुनौतीपूर्ण युगमा प्रवेश गरेको छ । नयाँ युगमा प्रवेश गरे पनि लिवियाका आगामी दिन सोचेभन्दा निकै कठिन बन्दै छन् । गद्दाफीले सिकाएको प्रतिशोध, निषेधको राजनीति र अहंकार एवं जिद्दीलाई अन्तरिम नेताहरु, जातीय तथा धार्मिक समुदायले परित्याग गरी सबैलाई मान्य हुने सहभागिता
र समावेशी लोकतान्त्रिक शासन व्यवस्थाको जग बसाल्नतिर ध्यान केन्द्रित गर्नुपर्ने थियो । तर त्यहाँ त्यसो हुन सकिरहेको छैन । जसले गर्दा गद्दाफीपछि लिवियाका चुनौती झन् बढेर गएका छन् ।
लिवियमा गद्दाफी हटाउने उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)को आफ्नो मिसन पूरा भयो । नेटोको सहयोगमा ठूलो मूल्य चुकाएर गद्दाफी मारिए । तेलको धनी लिवियामा अहिले तेलको स्वामित्व विदेशीको हातमा गइसकेको छ । अहिले जनता भने एकआपसमा लड्दैभिड्दै छन् । एक आपसको लडाइँले परिस्थिति जटिल बनेको छ । मिलेर बसेका लिवियालीहरु राजनीतिक हिंसको सिकार बनेका छन् ।
गद्दाफी हटाउने आठ महिने आन्दोलनमा ३० हजार मानिस मारिए । एक लाख भन्दा बढी घाइते भए भने पाँच लाख ८० हजारभन्दा बढी मानिस शरणार्थी बने । युद्धका कारण ५० करोड डलरभन्दा बढीको नोक्सानी भयो । युद्धका क्रममा गद्दाफीले आफ्ना छोरा ,नातिनातिनालगायत थुप्रै आफन्तजन गुमाए । युद्धबाट बचेका पत्नी र केही छोराछोरी ,नातिनातिनालाई नाइजरको शरणार्थी बनाए र अन्त्यमा आफू पनि बीभत्स ढङ्गले मारिए ।
गरिब गोठालका रुपमा भेडीगोठमा जन्मेका गद्दाफीले २७ वर्षको उमेरमा विनारक्तपात राजतन्त्र फ्याँकेर मुलुकलाई गणतान्त्रिक बनाउँदा उनी क्रान्ति नायक बने । ४२ वर्ष एकलौटी सत्ता चलाउँदा उनले मुलुकलाई आर्थिक र भौतिक रुपले विकसित बनाए । गद्दाफीको शासनकालमा जनतालाई राजनीतिकबाहेक धेरै क्षेत्रमा सुविधा दिइएको थियो । जनतालाई समयानुकूल राजनीतिक स्वतन्त्रतको अधिकार नदिनु उनको ठूलो कमजोरी थियो । त्यही कमजोरी नै उनको पतन र समाप्तिको कारण बन्यो । यसैलाई आधार बनाएर विदेशी हस्तक्षेप भयो, मुलुक गृहयुद्धमा होमियो ।
आज आम लिवियालीको चिन्ता नै मुलुक कसरी बचाउने भन्नेमा छ । सक्षम नेतृत्वको अभावले मुलुक अराजकता र चरम हिंसाको सिकार बनेको टुलुटुलु हेरेर बस्न विवश छन् उनीहरु । अधिकांश लिवियालीले गद्दाफी मारेकोमा पछुतो मानेका छन् । लोकतन्त्रको जग बस्न नसकेको ६५ लाख जनसङ्ख्या रहेको लिविया अर्को दुर्घटनामा पर्ने त होइन ? प्रश्न अनुत्तरित छ ।