विरही संगीतकार बिजेन श्रेष्ठको नयाँ गीतमा मनछुने विरह

काठमाडौं। संगीत बाँच्ने औषधि हो । यसको सहारामा कति धेरैले जिन्दगीलाई बचाएको छ। यही संगीतको कारण कतिले नयाँ जिन्दगी पनि पाएका छन्। यसमा गायक तथा संगीतकार बिजेन श्रेष्ठ पनि अछुतो हुन सकेका छैनन्। उनै विरहका मनछुने संगीत राख्ने र पाएमा गीत पनि गजबले गाउने संगीतकार बिजेन श्रेष्ठको संगीतमा सिर्जना भएको भावप्रधान विरही गीत सार्वजनिक भएको छ।

हार्न बाँकी के नै रह्यो–आफैसंग हारेपछि! मनचरीले मन छाडी बनमा गुँड सारेपछि ! बोलको गीत सार्वजनिक भएको हो। राजनविक्रम थापाको शव्द तथा प्रचण्ड राजोपाध्यायको गायन रहेको यस गीतको भिडियोमा संगीतकार बिजेन श्रेष्ठको विशेष अतिथि अभिनय रहेको छ। साथमा हरिप्रसाद अर्याल, राजन विक्रम थापा, सरिता ढकाल लगायतको अभिनय रहेको छ। निर्देशन रुपिन डंगोलको रहेको छ।

 

विरह तथा पीडावाट गुज्रेको जीवनलाई गीतको बोलअनुसार फिल्मांकन स्वभाविक छ। संगीतकार बिजेन श्रेष्ठ आफैपनि यो गीत कतै आफ्नै कथा–व्यथा जस्तो लागेको भनेर भावुक बनेर प्रतिक्रिया दिने क्रममा धेरैबेर टोलाएका थिए। मरेर बाँचेको नयाँ जिन्दगी आफूले पाएको अनुपम उपहार भन्न रुचाउंने संगीतकार बिजेन श्रेष्ठ मुटुमा घाउ लागेपछि मात्र प्राय सवै बिरही बन्ने गरेको यथार्थतालाई खुलासा गर्न चुक्दैनन्।

प्रकाशन मिति–२०७८ साल चैत १७ गते विहीवार ।