भारतीय फूलको आयात रोक्न झापाका किसानको माग

फूलको आयात

काठमाडौँ, कार्तिक ११ ।  भारतबाट हुने फूलको आयातका कारण स्वदेशी सयपत्री फूलले बजार नपाएको भन्दै झापाका व्यावसायिक फूल उत्पादक किसानले आयात नियन्त्रण गरी स्थानीय उत्पादनलाई प्राथमिकता दिन प्रशासनसँग माग गरेका छन् ।

विर्तामोडकी कृषक शुष्मा पौडेलको नेतृत्वमा २० जना व्यावसायिक किसानको टोलीले मङ्गलबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई सातबुँदे मागपत्र बुझाउँदै स्वदेशी फूलखेतीको संरक्षण र बजार सुनिश्चित गर्न आग्रह गरेको हो । किसानले स्थानीय उत्पादनले बजार नपाउँदा फूल बोटमै खेर जाने र लगानी डुब्ने अवस्था सिर्जना भएको बताएका छन् ।

किसानले स्वदेशी उत्पादनले स्थानीय बजारको माग धान्न सक्ने अवस्था रहेकाले भारतीय फूलको आयात रोक्न नीतिगत पहल गर्न माग गरेका छन्। स्वदेशी उत्पादनको संरक्षण र फूलखेतीमा गरिएको लगानीको सुरक्षाका लागि राज्यले आवश्यक कदम चाल्नुपर्ने कृषक पौडेलले बताउनुभयो ।

पछिल्ला केही वर्षयता झापामा सयपत्री फूलको व्यावसायिक खेती विस्तार हुँदै गएको छ । जिल्लामा १५ देखि २० हेक्टर क्षेत्रफलमा फूलखेती भइरहेको किसानको भनाइ छ । विर्तामोड, मेचीनगर, भद्रपुर, दमक र शिवसताक्षीलगायत क्षेत्रमा सयपत्री फूलको व्यावसायिक उत्पादन हुँदै आएको छ ।

फूलखेतीमा लाखौँ रुपैयाँ लगानी, श्रम र समय खर्चिए पनि उत्पादनले उचित मूल्य र बजार नपाउँदा किसान आर्थिक क्षति व्यहोर्न बाध्य भएको गुनासो छ। व्यावसायिक फूलखेतीले स्थानीयस्तरमा रोजगारी र आयआर्जनको अवसर सिर्जना गरे पनि उत्पादनको बजार व्यवस्थापन र लगानी सुरक्षामा पर्याप्त ध्यान नदिइएको किसानको भनाइ छ ।

किसानले भारतबाट हुने अनधिकृत फूल आयात नियन्त्रण गर्न सीमा तथा भन्सारमा प्रभावकारी अनुगमन गर्नुपर्ने माग गरेका छन्। त्यसैगरी, स्थानीय फूलको उचित मूल्य र सहज बजार सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाउन पनि उनीहरूले प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

सरकारी कार्यालय, विद्यालय, होटल तथा विभिन्न सङ्घसंस्थामा स्वदेशी फूलको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने, फूलखेतीसम्बन्धी वास्तविक तथ्याङ्क सङ्कलन गरी दीर्घकालीन योजना बनाउनुपर्ने र उत्पादनको संरक्षण तथा बजार विस्तारका लागि सरकारी सहयोग उपलब्ध गराउनुपर्ने मागसमेत किसानले अघि सारेका छन् ।

स्वदेशी उत्पादनले बजार पाउने वातावरण निर्माण गर्न सके फूलखेतीमा किसानको लगानी सुरक्षित हुनुका साथै स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना र आयआर्जनमा समेत योगदान पुग्ने किसानको अपेक्षा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *