भारतीय वायुसेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा

maitrinews

 

बुटवल । भारतीय सुरक्षाकर्मी (स्पेशल प्रोटेक्सन गार्ड) लिएर भारतीय वायु सेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको छ । जहाज बिहान साढे ८ः२८ बजे भैरहवामा अवतरण गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जयन्तीका दिन जेठ २ गते गर्ने लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी लिएर उक्त विमान आएको हो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर शाहका अनुसार भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ दिल्लीबाट काठमाडौं हुँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएको हो ।

जहाज बुधबार बिहान भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो । काठमाडौं विमानस्थल स्रोतका अनुसार यो जहाज धावनमार्गमा अवतरण गरेसँगै काठमाडौंमा रोकिएन, लगत्तै टेकअफ लिएको जहाज भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हो । नयाँ विमानस्थल भएका कारण जहाज सिधै भैरहवा अवतरण नगरी काठमाडौं आएर गरेको हुन सक्ने बताइएको छ ।
यो नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो अन्तर्राष्ट्रिय विमान भएको प्रवक्ता शाहले बताए । भारतीय सुरक्षाकर्मीलाई छोडेर विमान आजै दिल्ली फिर्ता जाने प्रवक्ता शाहले बताए ।
यो विमानस्थल जेठ २ गते नै औपचारिक उद्‌घाटन हुँदैछ ।