न्युयोर्क नेवाः गुठीद्वारा धन्यवाद ज्ञापन

 

न्युयोर्क । हालै ज्यापु महागुठी नेपाःले काठमाडौँमा न्युयोर्क नेवाःगुठीका वर्तमान अध्यक्ष विजयमान सिंहलाई सम्मान गरेकोमा न्युयोर्क नेवाःगुठीले एक प्रस्ताव पारित गरी उक्त कार्यका लागि ज्यापु महागुठीप्रति आभार व्यक्त गर्दै धन्यवाद प्रस्ताव पास गरेको छ ।
सन् २००७ मा न्युयोर्कमा स्थापना भएको नेवाः गुठीले स्थापना कालदेखि आफ्नो जाति, भाषा, कला,संस्कृतिको लागि विभिन्न कार्यक्रम गरी आफ्नो संस्कृतिको उत्थान गरेवापत उक्त सम्मान गरेको कुरा ज्यापु महागुठी नेपाःका अध्यक्ष एवं लोक कवि राजभाइ जकःमिले बताउनुुभएको छ ।
उक्त सम्मान कार्यक्रममा नेवाः गुठीका वर्तमान अध्यक्ष विजयमान सिंहलाई अध्यक्ष पदमा निर्वाचित भएकोमा विभिन्न व्यक्तित्वहरु महागुठीका संरक्षक राजभाइ ज्यापु, सल्लाहकार भूपूमन्त्री तीर्थराम डंगोल, ज्यापु महागुठी नेपाः का केन्द्रीय सचिवालय समितिका साथै विभिन्न व्यक्तिहरुले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
न्युयोर्क नेवाःगुठीले स्थापना कालदेखि गुठीको नेतृत्वले विभिन्न सांस्कृतिक कार्यहरुलाई अगाडि बढाएको छ भने वर्तमान अध्यक्ष विजयमान सिंहले आफ्नो अध्यक्ष पद सम्हालेदेखि धिमय नाच र रञ्जना लिपिको पहिलो चरणको क्लास सम्पन्न गर्नुभएको छ । उक्त क्लास काठमाडौँबाट प्रत्यक्ष प्रशारण गरी सिकाइएको थियो ।
रञ्जना लिपि नेवारहरुको मौलिक लिपि हो । धिमय नृत्य पनि मौलिक नृत्य हो ।
नेपालले संयुक्त राष्ट्रसंघकोे सदस्यता लिँदा पहिलो पल्ट देवनागरिक लिपि पेस गर्दा यो भारतको लिपि हो भन्दै अस्वीकार गरेपछि राजा महेन्द्रले रञ्जना लिपि पठाएर संयुक्त राष्ट्रसंघको सदस्यता लिएको लिपि हो ।
नेवाः गुठीले धिमय नृत्य र रञ्जना लिपि लेख्न र सिक्न पाएकोमा खुसी पनि व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *