विराटनगरमा कार्गो रेल्वे सञ्चालनमा आउने

मोरङ : भारतको वथनाहबाट विराटनगरसम्म कार्गो रेल्वे सञ्चालनमा आउने भएको छ ।
मालवाहक रेल्वे सञ्चालन निर्माणको अन्तिम चरणमा पुगेको सम्बन्धमा उद्योग सङ्गठन मोरङमा भएको बैठकमा भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजनल मेनेजर एसके चौधरीले विराटनगरदेखि कार्गो रेल्वे अविलम्ब सञ्चालनमा ल्याउने जानकारी दिनुभएको हो ।

छलफलमा उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले मिरगञ्ज पुलमा आएको अवरोधले गर्दा मालवाहक सवारीका साधन रिरुट गरी ल्याउँदा उद्योगीलाई थप आर्थिक व्ययभार परिरहेको अवस्थामा मालवाहक रेल्वे सञ्चालनले राहत दिने वताउनुभयो ।

भारतीय रेल्वे, डिभिजनल रेल्वे मेनेजर एसके चौधरीले १८ दशमलव छ किलोमिटर लम्बाइ भएको वथनाह विराटनगर रेल्वेको काम अन्तिम चरणमा पुगेको बताउँदै नेपाल र भारत सरकारबीच प्राविधिक र प्रशासनिक प्रक्रिया पूरा भएको १० देखि १५ दिनमा कार्गो रेल सञ्चालनमा ल्याउन सकिने जानकारी दिनुभयो ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दुई देशीय व्यापार विस्तारका लागि महत्वपूर्ण कार्गो रेल सञ्चालनमा ल्याउन महानगरपालिकाका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले निर्माणको क्रममा देखिएका बाधा समाधानमा मोरङ प्रशासनको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । छलफलमा विराटनगर भन्सारका प्रमुख अधिकृत ताराप्रसाद सापकोटाले मिरगञ्ज पुलका कारण आयात निर्यातमा समस्या आउँदा राजस्व सङ्कलनसमेत प्रभावित भएको जनाउँदै कार्गो रेल सञ्चालनमा ल्याउन भन्सारको सहयोग रहने बताउनुभयो ।

छलफलमा सङ्गठनका उपाध्यक्ष नन्दकिशोर राठी, कार्यसमिति सदस्य पारस लुनिया, भारतीय रेल्वे, जोगवनी आइसिपि, नेपाल रेल्वे विभाग, नेपाल आइसिपिका प्रतिनिधिलगायत उद्योगी व्यवसायीको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *