कोरोना थप फैलिएपछि लम्ब्याइयो पेरुमा सङ्कटकाल

ऐजेन्सी : कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिएपछि पेरुमा सङ्कटकाल लम्ब्याइएको छ । पेरुमा कोरोना भाइरसको सङ्क्रमणको चौथो चरण सुरु भएको घोषणा गरिएको छ । सङ्कटकाल आगामी अगस्ट १ देखि २८ दिनसम्म लागू हुने उल्लेख गरिएको छ ।

सरकारी एक अधिकारीका अनुसार पेरुमा कोरोना भाइरसको महामारी बढ्दै गइरहेको हुुुनाले मानव स्वास्थ्यलाई ठूलो चुनौती दिएको भन्दै त्यहाँको सरकारले सङ्कटकाल फेरि लम्ब्याउने निर्णय गरेको हो ।

अघिल्लो हप्ता ११ हजार मानिस दैनिक सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पेरुमा पछिल्लो एक दिनमा १४ हजार १८६ जना सङ्क्रमित भएका छन् भने ४१ जनाको मृत्यु भएको छ ।

पेरुमा कोरोना भाइरसका कारण अहिलेसम्म ३८ लाख ७३ हजार ७०२ जना सङ्क्रमित र दुइ लाख १४ हजार १२० जनाको मृत्यु भएको छ ।