दोब्बर बढे शुक्लाफाँटामा पाटे बाघको संख्या
कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या दोब्बरले बढेको छ । पाटे बाघको संख्या बढेर ३६ पुगेको छ । निकुञ्ज कार्यालयका अनुसार १६ पोथी, १२ भाले र लिङ्ग नखुलेका बाघको संख्या आठ रहेको छ ।
बाघको बासस्थान सुधारसँगै आहारा पर्याप्तता, पानीको व्यवस्था, चोरी शिकारी पूर्णरुपमा नियन्त्रण हुनुका साथै मध्यवर्ती क्षेत्रका बासिन्दाको सहयोग र समन्वयका कारण बाघको संख्या बढेको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत मनोज ऐरले बताए ।
‘सन् २०२२ भित्रै बाघको संख्या दोब्बर पार्ने प्रतिबद्धता पुरा भएको छ’, उहाँले भन्नुभयो, यसलाई निकै ठूलो उपलब्धिका रुपमा लिएका छौं । गत वर्षको माघ २९ देखि २१ दिनसम्म स्वचालित क्यामेराको सहायताले बाघ गणनाको कार्य गरिएको थियो ।
शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइ भएको दुई सय ६० ग्रीडमा विभाजन गरी बाघ गणनाको कार्य गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । थोरै क्षेत्रफलमा धेरै बाघको घनत्व पाइने क्षेत्रका रुपमा निकुञ्ज परिचित रहेको छ ।
निकुञ्जमा सन् २००८ देखि बाघ गणनाको कार्य हुँदै आएको छ । सन् २००९ मा निकुञ्जमा बाघको संख्या आठ वटा मात्रै रहेको थियो । त्यो संख्या बढेर अहिले ३६ पुगेको हो ।
