पोखरामा पहिरोले पुरिएर एक जनाको मृत्यु, सय घर डुबानमा
कास्की : पोखरा महानगरपालिका डिहिगोपाटनमा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ ।
गएराति घर पछाडिबाट खसकोे पहिरोले स्थानीय लक्ष्मी खड्काको ब्लकले बनाएको घर पुरिएर भाडामा बस्दै आएका माछापुच्छ्रे गाउँपालिका– १ का २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको हो । सोही कोठामा बसेका सन्तोषकी दिदी सुनिता सुनार घाइते भएकी छिन् भने उनका छोरा १० वर्षीय सिम्रन सुनार सकुशल रहेका छन् ।
मध्यरात करिब २ बजेतिर पहिरोले घर पुरिएको थाहा पाएपछि प्रहरी टोली उद्धारमा खटिएको थियो ।
पहिरोमा परेका सन्तोषलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएको कास्की प्रहरीका इन्सपेक्टर ज्ञानबहादुर खड्काले जानकारी दिए । खड्काका अनुसार अस्पतालका चिकित्सकले सन्तोषको मृत्यु भइसकेको जनाएका थिए ।
घाइते सुनिताको गण्डकी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
आइतबार साँझदेखि परेको अविरल वर्षाले पोखरा– १३ कमलपोखरीमा सयौं घरहरू डुबानमा परेका छन् ।
