मेचीनगर बाहुनडाँगीका वडाध्यक्ष स्वागत गुन्द्री र पिरामा

झापा : झापाको मेचीनगर, बाहुनडाँगीका वडाध्यक्षले पाहुनालाई गुन्द्री र पिराले स्वागत गर्ने गरेका छन् ।

गत वैशाख ३० गतकोे स्थानीय चुनावबाट वडाध्यक्ष निर्वाचित हुनुभएको मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुनकुमार कार्कीले पाहुनाहरुलाई गुन्द्री र मकैको खोसेलाबाट निर्मित पिराले स्वागत गर्ने गरेको हो । उनी भन्छन्, मेरो वडामा प्रधानमन्त्री आउनुभयो भने पनि गुन्द्रीमै बसाउँछु ।

बिहानदेखि बेलुकासम्म यहाँका बासिन्दालाई हात्तीबाट कसरी जोगिने भन्ने ध्याउन्नमै हुन्छ । यहाँ मानव–हात्ती द्वन्द्वले जनजीवन आक्रान्त छ ।

वडावासी शिक्षा, स्वास्थ्य, रोजगारी र किनमेलका लागि टाढा सहरी क्षेत्र काँकडभिट्टा, धुलाबारी, विर्तामोड या भारतको नक्सलबाडी पुग्न बाध्य छन् ।

वडावासीले विहान खाए बेलुकी के खाने भन्ने अवस्थामा रहेका कारण कुर्सीको साटो गुन्द्री र पिरामा बसेर वडा कार्यालय सञ्चालन गर्दै आउनु भएको बताउनु हुन्छ ।

वडाध्यक्षको पदबहालीदेखि अहिलेसम्म वडाध्यक्ष कार्कीले कार्यालयमा कुर्सी प्रयोग गर्नुभएको छैन । सेवाग्राहीको निवेदनमा तोक लगाउने नियमित कामकाजदेखि वडाको बैठक बस्दासमेत घरेलु गुन्द्री र पिरा छाड्नुभएको छैन । कार्यालयमा आउने पाहुनालाई पनि उहाँँले गुन्द्री र पिराकै व्यवस्था मिलाउने गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, कसैलाई देखाउन मैले ढर्रा गरेको होइन, पाँच वर्षे कार्यकाल गुन्द्री र पिरामै बिताउने सङ्कल्प बोकेर जनताको सेवामा जुटेको छु ।

गुन्द्री र पिरा स्थानीय सामानहरू मकैको खोसेला, सुपारीका पात र परालले बनाइएका हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *