काठमाडौँका १० क्षेत्रबाट एमालेका ३० को नाम सिफारिस, मानन्धरको नाम अटाएन, अष्टलक्ष्मीको समानुपातिकमा चाहना

काठमाडौं । नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले आगामी मंसिर–४ गते हुने संघीय निर्वाचनका लागि आज काठमाडौँका दशवटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारको नाम सिफारिसका लागि क्षेत्रीय कमिटीलाई पठाएको छ । आज अपराह्न १ बजे एकै पटक बसेको क्षेत्रीय कमिटीको बैठकले १० बटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारको नाम पठाएको हो । पछिल्लो जानकारी अनुसार उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नाम क्षेत्रबाट सिफारिस भएको छैन ।

उहाँको नाम सिफारिस हुँदा काठमाडौं ८ बाट हुनुपर्ने थियो । तर, उहाँले यो पटक समानुपातिकमा बस्ने चाह गरेपछि नाम सिफारिस नभएको जिल्ला कमिटीका एक नेताले जानकारी दिनुभयो । त्यस्तै दुई पटक क्षेत्र नम्बर–७ बाट विजयी हुनुभएका रामबीर मानन्धरको यो पटक कतैबाट पनि नाम सिफारिस भएको छैन । क्षेत्र नम्बर–७ बाट इन्दिरा पन्त, विपी ढकाल, श्याम घिमिरेको नाम सिफारिस भएको छ भने विद्यासुन्दर शाक्य, रघुजी पन्तको नाममा छलफल भएको छ ।
काठमाडौँ क्षेत्र नम्बर–२, ३, ५, र ८ बाट एक–एक जनाको मात्रै नाम सिफारिस भएको काठमाडौँ जिल्ला कमिटीले जानकारी दिएको छ । २ बाट मणिराम फुयााल, ३ बाट जिल्ला कमिटीका पूर्व अध्यक्ष एवं वर्तमान सांसद कृष्ण राई, ५ बाट पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र ८ बाट जिल्ला कमिटी सचिव राजेश शाक्यको एकल नाम सिफारिस भएको छ ।

जिल्ला कमिटीले दिएको जानकारी अनुसार काठमाडौँ क्षेत्र नम्बर १ बाट विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराईको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर २ बाट मणीराम फुयाल र क्षेत्र नम्बर ३ बाट कृष्ण राईको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर ४ बाट डा. राजन भट्टराई, निर्मल कुइकेलको अनि क्षेत्र नम्बर ५ बाट ईश्वर पोखरेलको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ६ बाट योगेन्द्र संग्रौला, लेखनाथ फुयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा, हरिशरण तिमल्सिनाको नाम सिफारिस भएको छ । यो क्षेत्रबाट अघिल्लो पटक प्रदेश सांसद रहनु भएको केशव स्थापितको नाम सिफारिस भएको छैन ।

उहाँ भर्खरै सम्पन्न निर्वाचनबाट काठमाडौँ महानगरपालिकाको मेयरमा पराजित हुनुभएको थियो । क्षेत्र नम्बर ७ बाट इन्दिरा पन्त, विपी ढकाल, श्याम घिमिरेको नाम सिफारिस भएको छ भने विद्यासुन्दर शाक्य, रघुजी पन्तको नाममा छलफल भएको थियो । क्षेत्र नम्बर ८ बाट राजेश शाक्य र क्षेत्र नम्बर ९ बाट कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य, डा. अजय क्रान्ति शाक्य र नवराज भट्टको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर १० बाट विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जनको नाम सिफारिस भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *