सम्यक् महादानको परम्परा जोगाउन मौलिक संरचना र व्यवस्थापनलाई निरन्तरता दिने कार्यवाहक प्रमुख डंगोलको प्रतिबद्धता

सम्यक् महादान

काठमाडौँ, ६ मङ्सिर । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख एवं सम्यक् महादान मूल समारोह समितिका प्रमुख संयोजक सुनिता डंगोलले सम्यक् महादानसँग सम्बन्धित मौलिक धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण गर्दै त्यसका लागि आवश्यक व्यवस्थापनलाई दिगो बनाइने बताउनुभएको छ । आउँदो माघ १ गते स्वयम्भूको भुइख्य (भुइखेल) मा आयोजना हुने सम्यक् महादानको तयारीका क्रममा आइतबार स्थलगत निरीक्षण गर्दै उहाँले परम्परागत क्रियाकलापसँग सम्बन्धित स्थान र संरचनाको पहिचान गरी व्यवस्थापन गरिने बताउनुभएको हो ।

कार्यवाहक प्रमुख डंगोलले लामो समयसम्म सम्यक् महादान आयोजना नहुँदा परम्परागत क्रियाकलापसँग सम्बन्धित स्थानमा आएको परिवर्तनलाई समायोजन गर्नु अहिलेको मुख्य आवश्यकता रहेको उल्लेख गर्नुभयो । यसका लागि विगतमा महादान देखेका, सुनेका र जानकारी राखेका ज्येष्ठ नागरिक तथा जानकार व्यक्तिबाट परम्परागत अभ्यासबारे जानकारी लिएर व्यवस्थापन गरिने उहाँको भनाइ थियो ।

उहाँले मौलिक परम्परासँग सम्बन्धित संरचनाको उपलब्धता र विकासक्रममा आएका परिवर्तनबीच समन्वय गरी समाधान खोजिने बताउँदै आगामी दिनमा पनि व्यवस्थापनलाई निरन्तरता दिन सकिने प्रणाली विकास गरिने जानकारी दिनुभयो ।

निरीक्षणमा मूल समारोह समितिका संयोजक प्रा. डा. नरेश मान बज्राचार्य, महानगरपालिकाका प्रवक्ता एवं समितिका सहसंयोजक नवीन मानन्धर, वडा नं. १५ का अध्यक्ष एवं समितिका सहसंयोजक ईश्वरमान डंगोल, विभिन्न धार्मिक तथा सांस्कृतिक क्रियाकलापसँग सम्बन्धित प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, सरोकारवाला र स्थानीयवासी सहभागी हुनुहुन्थ्यो ।

निरीक्षणका क्रममा संयोजक प्रा. डा. बज्राचार्यले सम्यक् महादानसँग जोडिएका धार्मिक, सांस्कृतिक तथा सामुदायिक परम्परा र संस्कारलाई निरन्तरता दिने प्रयास भइरहेको जानकारी दिनुभयो ।

वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोलका अनुसार भुइख्य स्वयम्भूको पूर्वी आँगनका रूपमा रहेको ऐतिहासिक स्थल हो । यही स्थानमा सम्यक् महादान आयोजना गर्ने परम्परा छ । भुइख्यका विभिन्न स्थानमा रहेका शिलाका मण्डलमा भगवान् दीपङ्करका मूर्ति राख्ने चलन छ । त्यस्तै, भुइख्यको पश्चिमतर्फ सम्यक् भोजन तथा प्रसाद तयार गर्ने र धर्मचक्र पार्कसँगैको पलेस्वाँ पोखरीको दक्षिणतर्फ तथा भुइख्यको उत्तरतर्फ राष्ट्रप्रमुखका लागि मञ्च निर्माण गर्ने परम्परा रहेको उहाँले जानकारी दिनुभयो ।

महानगरपालिकाको प्रशासन महाशाखा प्रमुख रामप्रसाद सापकोटाको संयोजकत्वमा सात सदस्यीय स्थान व्यवस्थापन उपसमिति गठन गरिएको छ । सोही उपसमितिको अगुवाइमा महादानका लागि आवश्यक स्थान, संरचना र व्यवस्थापनको अवस्थाबारे स्थलगत निरीक्षण गरिएको हो ।

बौद्ध धर्मावलम्बीका लागि सम्यक् महादान विशेष धार्मिक तथा सांस्कृतिक महत्त्वको पर्व हो । महादानमा सहभागी हुन नसके पनि भुइख्यमा आएर पाइला टेकेमा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको वडा अध्यक्ष डंगोलले बताउनुभयो ।

सम्यक् महादानको तयारीस्वरूप गत कात्तिक १९ गते स्वयम्भूमा ग्वयदाँ (निमन्त्रणा) पूजा सम्पन्न गरिएको थियो । पूजापछि परम्परागत तथा राजकीय बाजागाजासहितको टोली राष्ट्रपति भवन शीतल निवास पुगेर ग्वयदाँ दिन गएको थियो ।

परम्पराअनुसार सम्यक् महादान तीन दिनसम्म मनाइन्छ । पहिलो दिन हनुमानढोकास्थित पुरानो राजदरबार परिसरमा तथा दोस्रो र तेस्रो दिन स्वयम्भूको भुइख्यमा कार्यक्रम आयोजना गरिन्छ । तेस्रो दिनको कार्यक्रमलाई मिसा (महिला) सम्यक् भन्ने गरिन्छ ।

व्यक्तिविशेषबाट पछिल्लो पटक विसं २०५८ मा र गुठीमार्फत विसं २०६१ मा सम्यक् महादान आयोजना गरिएको थियो । बौद्ध धर्मावलम्बीका धार्मिक क्रियाकलापमा दानलाई महत्त्वपूर्ण स्थान दिइन्छ । नेपालमा वार्षिक रूपमा आयोजना हुने पञ्जराँ (पञ्चदान), नराँ पञ्जराँ दान तथा गुठीमार्फत निश्चित अन्तरालमा आयोजना गरिने सम्यक् महादान नेपाली मौलिकता बोकेका दान परम्परा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *