झापामा एमालेलाई एक्लै सहजः काँग्रेसलाई गठबन्धनको भर, गुटको डर

झापा । ६ लाख ४६ हजार २ सय ३४ मतदाता रहेको झापा जिल्लाका पाँच निर्वाचन क्षेत्रमा अहिले १५ वटा पालिका रहेका छन् । २०७४ सालको संघीय निर्वाचनको तथ्याङ्कलाई हेर्ने हो भने पाँच मध्ये चार ओटा निर्वाचन क्षेत्रमा बामपन्थी दल विजयी भएका थिए भने एक क्षेत्रमा राप्रपाका राजेन्द्र लिङ्देल एमालेसहितको समर्थनमा विजयी हुनुभएको थियो । चार क्षेत्रमा बामपन्थी दल विजयी भए पनि नेकपा विभाजनपछि क्षेत्र नम्बर–१ बाट विजयी सुरेन्द्रकुमार कार्की अहिले नेकपा माओवादीमा हुनुहुन्छ ।

उहाँले एमालेको समर्थनमा ३६ हजार १ सय ७३ मत ल्याएर विजयी हुँदा काँग्रेसका विश्वप्रकाश शर्मा ३३ हजार ३ सय १० मतसहित दोस्रो हुनुभएको थियो । विगतदेखि नै एमालेको किल्लाको रुपमा रहेको यो क्षेत्रमा यस पटक एमालेबाट संविधानसभाका सांसद रविन कोइरालाको चर्चा बढीे छ । उहाँसँगै विष्णु प्रसाईँ, रामचन्द्र उप्रेती र प्रदेश सांसद श्रीप्रसाद मैनालीको पनि एमालेबाट चर्चा छ ।

रेणुका डाँगी, लता प्रसाईँलगायतको पनि चर्चा एक नम्बरबाट छ । प्रसाईँ यस अघि प्रदेश प्रमुखको समेत जिम्मेवारीमा रहेको लगायतका कारण कोइरालाको संभावना बढी रहेको देखिन्छ । गठबन्धनका तर्फबाट माओवादीले झापाका दुई क्षेत्र दाबी गर्दा १ र ५ मा गर्ने देखिन्छ । १ मा दाबी गर्दा कार्कीलाई नै अघि सार्ने संभावना बढी छ । यद्यपि, पटक–पटक चुनाव हारेर पनि नथाकेका र अहिले काँग्रेसको निर्वाचित महामन्त्री पनि भएकाले १ बाट शर्माले दाबी नछाड्ने संकेत गरेकाले गठबन्धनमा कस्लाई टिकट दिने भन्नेमा माथापच्ची बन्ने देखिन्छ । झापामा कृष्णप्रसाद सिटौला र शर्माको लय नमिल्ने भएकाले सिटौला सकेसम्म शर्मालाई झापा बाहिरबाट टिकट दिलाउने र त्यहाँबाट निकाल्ने योजनामा रहेको बुझिन्छ । तर, उहाँको त्यो चाह पूरा भैहाल्ला भन्ने एकिन छैन । कोइरालाले टिकट पाएको अवस्थामा १ नम्बरबाट प्रसाईँ बाहेक माथि उल्लेखित नाम मध्येबाटै प्रदेशमा टिकट पाउने संभावना छ ।

विगतदेखि नै एमालेको किल्लाको रुपमा रहेको यो क्षेत्रमा यस पटक एमालेबाट संविधानसभाका सांसद रविन कोइरालाको चर्चा बढीे छ । उहाँसँगै विष्णु प्रसाईँ, रामचन्द्र उप्रेती र प्रदेश सांसद श्रीप्रसाद मैनालीको पनि एमालेबाट चर्चा छ

झापा क्षेत्र नम्बर–२ मा ०७४ को निर्वाचनमा संघबाट एमालेकी पवित्रा खरेल (निरौला) ४५ हजार ८ सय १७ मतसहित विजयी हुनुभएको थियो भने काँग्रेसका उद्धव थापा ३२ हजार ५० मतसहित दोस्रो हुनुभएको थियो । यो क्षेत्र पनि एमालेको पकट क्षेत्रका रुपमा परिचित छ । यो क्षेत्रबाट यो पटक पूर्वमन्त्री समेत रहनु भएको अग्नी खरेल, देवराज घिमिरे र वर्तमान सांसद पवित्रा खरेल निरौलाको दाबी रहेको देखिएको छ । यो क्षेत्रबाट काँग्रेसका प्रदेश अध्यक्ष समेत रहनु भएका पौडेलले टिकट पाउने संभावना छ भने एमालेबाट यी तीन मध्ये एकले प्रतिस्पर्धा गर्ने अवस्था देखिन्छ ।

१५ बटा पालिका मध्ये ६ वटा पालिकामा विजयी भएको थियो भने ७ ओटा पालिकामा दोस्रो स्थानमा रहेको छ । यसरी हेर्दा लोकप्रिय मतमा स्थानीय तहमा पनि एमाले नै अघि देखिएको छ । यो भनेको आगामी मंसिर–४ मा हुने निर्वाचनका लागि एमालेका लागि झापा सहज देखिन्छ । यद्यपि, टिकट वितरणमा भने सन्तुलन मिलाउनु पर्ने चुनौती एमालेलाई छ ।
एमाले अध्यक्ष ओलीको समेत गृह जिल्ला रहेको झापामा यो पटक राप्रपासँग तालमेल हुने संभावना बढी देखिएको छ । यो भनेको एमालेका लागि सहज जितका लागि अवसर पनि हो । यसो हुँदा झापा क्षेत्र नम्बर–३ राप्रपाका लागि राजेन्द्रप्रसाद लिङदेललाई छाड्नु पर्ने पनि हुनसक्छ ।

अघिल्लो निर्वाचनमा पनि यो क्षेत्रमा एमालेकै समर्थनमा लिङ्देलले ४४ हजार ६ सय १४ मत ल्याएर विजयी हुनुभएको थियो । त्यहि क्षेत्रबाट काँग्रेसका कृष्णप्रसाद सिटौला ३१ हजार १ सय ७१ मतसहित दोस्रो बन्नुभएको थियो । यो पटक गठबन्धनबाट सिटौला नै यो क्षेत्रबाट उम्मेदवार बन्ने निश्चि जस्तै छ । एमालेबाट भने एमालेका केन्द्रीय सदस्य समेत रहनु भएको दुर्गा प्रसाईँ र अर्का केन्द्रीय सदस्य हरि राजवंशीको चर्चा छ । प्रसाईँले यो क्षेत्रमा निर्वाचन लक्षित धेरै कार्यक्रम गरेर आफूलाई बलियो उम्मेदवारका रुपमा अघि सारेका कारण पनि यो क्षेत्रमा टिकट वितरण पेचिलो बन्ने देखिएको छ । प्रदेशमा बसन्त बानियाँ लगायतको चर्चा छ ।

झापा क्षेत्र नम्बर–४ मा ०७४ को निर्वाचनमा लालप्रसाद साँवा लिम्बूले ४३ हजार ५ सय १५ मत ल्याएर विजयी हुँदा काँग्रेसका देउकुमार थेबे २६ हजार ८ सय २२ मतसहित दोस्रो हुनुभएको थियो । यो पटक यो क्षेत्रबाट एमालेबाट लिम्बूको चर्चा बढी छ । गौरादहको केही क्षेत्र पनि क्षेत्र नम्बर–४ मै पर्ने भएकाले पूर्व सांसद दीपक कार्कीले पनि यो क्षेत्रबाट उम्मेदावर बन्ने चाहना राखेको बुझिएको छ । यद्यपि, यो क्षेत्र जनजातिको बाहुलियता रहेका कारण जनजाति उम्मेदवारकै खोजि हुने संभावना पनि उत्तिकै छ । यो क्षेत्रबाट प्रदेश सांसदमा हिरा थापा, राधाकृष्ण खनाललगायतको चर्चा बढी छ । गठबन्धनबाट यो क्षेत्रमा यस पटक पनि थेबेले नै टिकट पाउने संभावना बढी देखिएको छ ।

यो पटक यो क्षेत्रबाट एमालेबाट लिम्बूको चर्चा बढी छ । गौरादहको केही क्षेत्र पनि क्षेत्र नम्बर–४ मै पर्ने भएकाले पूर्व सांसद दीपक कार्कीले पनि यो क्षेत्रबाट उम्मेदावर बन्ने चाहना राखेको बुझिएको छ

झापा क्षेत्र नम्बर–५ पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र हो । उहाँले अघिल्लो निर्वाचनमा ५७ हजार १ सय ३९ मतसहित विजयी हाता पार्दा काँग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत मात्रै पाउनु भएको थियो । यो क्षेत्रमा यो पटक गठबन्धनबाट माओवादीले दाबी गर्ने संभावना बढी छ । यसो हुँदा माओवादीले अखिल क्रान्तिकारीका रञ्जित तामाङलाई अघि सार्ने बुझिएको छ । पछिल्लो समय ओली झापा र अझ त्यसमा पनि निर्वाचन क्षेत्रमा बाक्लै आउजाउ गर्न थाल्नु भएको छ । उहाँ त्यहाँका मतदातासँग खुलेर छलफलमा केन्द्रित हुनुले पनि उहाँको पक्षमा माहोल बढेको अपेक्षा गरिएको छ । हेवीवेट नेतालाई त्यहाँका मतदाताले गुमाउन नचाहने भएका कारण पनि ओलीको जित निश्चित जस्तै छ । अनेरास्ववियुका पूर्व अध्यक्ष समेत रहनु भएका र एमाले पोलिट्व्युरो सदस्य समेत रहनु भएका प्रदेश सांसद हिक्मत कार्की पाँचबाट अध्यक्ष ओली नै उठ्ने भएपछि उहाँको फेरि पनि प्रदेशमै उठ्ने सम्भावना बढी देखिएको छ ।
पछिल्लो समय ओली झापा र अझ त्यसमा पनि निर्वाचन क्षेत्रमा बाक्लै आउजाउ गर्न थाल्नु भएको छ । उहाँ त्यहाँका मतदातासँग खुलेर छलफलमा केन्द्रित हुनुले पनि उहाँको पक्षमा माहोल बढेको अपेक्षा गरिएको छ । हेवीवेट नेतालाई त्यहाँका मतदाताले गुमाउन नचाहने भएका कारण पनि ओलीको जित निश्चित जस्तै छ ।

झापाका १५ स्थानीय तहको यस्तो छ लेखाजोखा

१५ वटा पालिका रहेको झापामा ०७९ को स्थानीय तह निर्वाचनमा दमक नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका राम कुमार थापा १७ हजार ५सय २५ मतसहित विजयी हुँदा नेकपा (एमाले) की गीता कुमारी पौडेल अधिकारी १६ हजार ९ सय ६६ सहित दोस्रो हुनुभएको थियो । त्यसैगरी कमल गाउँपालिकामा काँग्रेसका हुकुमसिंह राई १२ हजार ८ सय ६८ मतसहित निर्वाचित हुँदा एमालेका भीम प्रसाद राई ९ हजार ६ सय ५३ मतसहित दोस्रो हुनुभएको थियो ।

यता गौरादह नगरपालिकामा एमालेका छत्रपति सुवेदी १२ हजार ८ सय ४९ मतसहित निर्वाचित हुँदा काँग्रेसका रोहित कुमार शाह ११ हजार ४ सय ८४ मतसहित दोस्रो हुनुभएको थियो । गौरीगञ्ज गाउँपालिकामा काँग्रेसकी फुलवति राजवंशी ५ हजार ६ सय ८९ निर्वाचित हुँदा एमालेका बिजय कुमार अग्रवाल ३ हजार ३ सय ३० मतसहित दोस्रो हुनुभएको थियो ।

शिवसताक्षि नगरपालिकामा एमालेका मेगाहाङ्ग थोप्रा १६ हजार ४ सय ९८ मतसहित निर्वाचित हुँदा काँग्रेसका पर्शुराम ढुङ्गाना १३ हजार ५० मतसहित दोस्रो हुनुभएको थियो ।
झापा गाउँपालिकामा काँग्रेसका जय नारायण शाह ६ हजार ९ सय ९८ निर्वाचित हुनुभएको थियो भने एमालेका गौरीशंकर राजवंशी ४ हजार ३ सय ६५ दोस्रो हुनुभएको थियो ।

झापा गाउँपालिकामा एमालेका राजेन्द्र कुमार पोखरेल ८ हजार ६ सय ७३ मत सहित निर्वाचित हुँदा काँग्रेसका रुद्र प्रसाद चिमरिया ६ हजार ६ सय ६१ मतसहित दोस्रो हुनुभएको थियो । कचनकबल गाउँपालिकामा काँग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशी ११ हजार ४ सय ५७ मतसहित निर्वाचित राप्रपाका अन्जरा आलम ६ हजार ६ सय ६७ मतसहित दोस्रो हुनुभएको थियो । हल्दीवारी गाउँपालिकामा रविन्द्र राप्रपाका प्रसाद लिङदेन ६ हजार ८ सय ५६ मतसहित विजयी हुँदा एमालेका डम्बर बहादुर गिरी ४ हजार ६ सय ६६ दोस्रो हुनुभएको थियो ।

भद्रपुर नगरपालिकामा काँग्रेसका गणेश पोखरेल १२ हजार ५ सय २५ मतसहित निर्वाचित हुँदा एमालेका असारु राजवंशी ९ हजार ७ सय ५९ मतसहित दोस्रो हुनुभएको थियो । विर्तामोड नगरपालिकामा एमालेकी पवित्रा देवी महतारा १६ हजार ५ सय २० मतसहित निर्वाचित हुँदा काँग्रेसका भोजराज सिटौला १२ हजार ७६२ मतसहित दोस्रो हुनुभयो ।

अर्जुनधारा नगरपालिकामा एमालेका बलदेव सिंह गोम्देन तामाङ्ग १९ हजार १ सय ६९ मतसहित निर्वाचित हुँदा काँग्रेसकी रंजिता कार्की १३ हजार ७ सय ४३ मतसहित दोस्रो हुनुभयो । यता बुद्धशान्ति गाउँपालिकामा काँग्रेसका मनोज प्रसाई ११ हजार ४ सय ३ मतसहित निर्वाचित हुँदा एमालेका मिरा भूर्तेल ८ हजार ३ सय २ दोस्रो हुनुभएको थियो । यता मेचीनगर नगरपालिकामा एमालेका गोपाल बुढाथोकी २६ हजार ४ सय ७८ मतसहित विजयी हुँदा काँग्रेसका इन्द्र बहादुर बुढाथोकी २१ हजार ३ सय ११ मतसहित दोस्रो हुनुभएको थियो ।