एमालेको चुनावी रणनीतिः एक पार्टी सदस्य बराबर दुई नयाँ भोट

बैतडी । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एक पार्टी सदस्यले नयाँ दुई भोट बृद्धि र पुराना पाँच भोटको संरक्षण गरेको अवस्थामा मङ्सिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । बैतडीको पाटनमा आज आयोजित कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो । उहाँले आगामी निर्वाचनलाई एउटा नियमित प्रक्रियाका रुपमामात्र नभई, समाज बदल्ने अभियानका रुपमा लिई एकताबद्ध भई जुट्न पार्टीपङ्तीलाई आग्रह पनि गर्नुभयो । ‘देश बदल्ने भनेको समाज बदल्ने हो,’ उहाँले भन्नुभयो, ‘समाज बदल्नका लागि आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन संगठित र एकताबद्ध भई लाग्नुपर्छ ।’

उहाँले मङ्सिरपछि पनि पाँच दलीय गठबन्धको सरकार बन्ने अवस्था आयो भने देशको भविष्य अन्धकार हुने वताउनुभयो । उहाँले गठबन्धन सरकारको एकबर्षको कार्यकालमा देश अधोगतितर्फ गइरहेको आर्थिक सूचकाङ्कहरूले देखाइरहेको तथ्य प्रस्तुत गर्दै देशको भविष्यप्रति चिन्ता व्यक्त गर्नुभएको हो ।

स्थानीय निर्वाचनमा गठबन्धनमा रहेका दलहरूले सत्ताको दुरुपयोग गरी मतदाता प्रभावित गरेको अनुभव सुनाउँदै महासचिव पोखरेलले आगामी निर्वाचनमा मत सुरक्षाका लागि हरेक बुथमा युवा दस्ता तैनाथ गर्नुपर्ने हुँदा तयारी गर्न निर्देशन दिनुभयो । ‘मत वृद्धि र मत सुरक्षाको योजना सफल बनाई आगामी निर्वाचनपछि एमालेले बहुमतका साथ सरकारको नेतृत्व गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘एमालेको सरकार बनेपछि वृद्धभत्ता पाँच हजार पुर्याउँछ । एमालेका अध्यक्ष मनमोहन अधिकारीको पालामा एक सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता एमालेकै पालामा चार हजार पुगेको छ ।’

महासचिव पोखरेलले देश बनाउने शक्ति एमाले मात्र भएकाले सबै नेपाली जनतालाई एमालेको झण्डामुनि गोलबद्ध हुन आह्वान गर्नुभयो । उहाँले राष्ट्रवादी शक्ति एमालेका कारण एसपीपी सम्झौता रोकिएको वताउनुभयो । गठबन्धन सरकारले देश र जनताका लागि काम गर्न नसक्ने उहाँको भनाई थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा चुच्चे नक्सा संसदबाट पास भएर आएपछि अहिलेको सरकारले चुच्चे नक्सा हटाउँदै हिँडेको वताउनुभयो । प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजादीबाट ६० जना नेताकार्यकर्ता एमालेमा प्रवेश गरेको नेकपा (एमाले) बैतडीका अध्यक्ष सुरेन्द्र पालले जानकारी दिनुभयो ।

कार्यक्रममा पार्टी सचिव लेखराज भट्टले वर्तमान गठबन्धन सरकारले देशलाई आर्थिक रुपमा धराशायी पार्दै लगेको वताउनुभयो । प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी, केन्द्रीय सदस्य पुरन दयाल, लिलाधर भट्ट तथा बुधबार महेन्द्रनगरमा आयोजित कार्यक्रममा समाजवादीबाट एमालेमा समाहित हुनुभएका नेताहरू विक्रम बहादुर शाही, अशोक चन्द, तारा लामा तामाङ लगायत सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *