दुई महिनामा गृहजिल्लाका तीन भ्रमणबाट ओलीले दिन खोेजेको सन्देश

झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो समय गृह जिल्ला झापा र पूर्वी नेपालको भ्रमण बाक्लो हुन थालेको छ । २०७४ सालको संघीय निर्वाचनमा झापा क्षेत्र नम्बर–५ बाट ५७ हजार १ सय ३९ मतसहित विजयी हुनु भएका ओली यो पटक पनि त्यहि क्षेत्रबाट उम्मेदवार बन्ने निश्चित छ । त्यसकारण पनि उहाँले गृह जिल्ला र अझ त्यसमा पनि आफ्नो निर्वाचन क्षेत्रलाई बढी प्राथमिकतामा राखेको कुरालाई नकार्न मिल्दैन ।

‘जन्मथलो तेह्रथुम भए पनि ओलीका जीवनका कठिन अवस्थादेखि देशको प्रधानमन्त्री हुँदासम्मका दिनहरुमा झापाली जनताले निकै ठूलो गुण लगाएका छन्,’ झापाकै एक पार्टी नेता भन्नुहुन्छ, ‘त्यसकारण पनि ओली त्यो गुण तिर्न चाहनुहुन्छ । पछिल्लो समय उहाँले झापा र झापाली जनताको विकास र समृद्धिको आकाक्षांलाई मूर्तरुप प्रदान गर्ने कुरामा ठूलो योगदान गर्दै आउनु भएको छ । हामी अझै एक पटक यहिँको माटोबाट विजयी बनाएर उहाँलाई देशको नेतृत्व गर्ने तहमा पुगेको हेर्न चाहन्छौँ ।’ उहाँका ती भनाई र ओलीको झापा मोह मेलखाने खालकै देखिएको छ । उहाँ करीब दुई महिनाको बीचमै तीन पटक त्यो पनि तीन–चार दिनको तालिका नै बनाएर झापा पुग्नुभएको छ । एक पटक फेरि झापाबाट विजयी भएर पार्टी मात्रै होइन मुलुककै नेतृत्व गर्ने मनोविज्ञान ओलीको छ भन्ने सन्देश पनि हो, यो ।

ओली भदौ २ गते तीन दिनका लागि गृहजिल्ला झापा पुग्नुभएको थियो । त्यसको तीन साता अघि मात्रै पनि उहाँ चार दिन झापा बसेर फर्कनु भएको थियो । दोस्रो भ्रमणको तीन साता पनि बित्न नपाउँदै ओली फेरि दुई दिनका लागि झापा पुग्नुभएको छ । अध्यक्ष ओली भदौ २ गते झापा पुगेर कचनकवल गाउँपालिकास्थित बनियानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । त्यहि भ्रमणका सिलसिलामा उहाँले तत्कालीन पञ्चायती शासकहरूद्वारा हत्या गरिएका झापा सङ्घर्षका शहीदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको स्मृतिमा झापाको सालबाडीमा निर्माण गरिएको शहीद स्मृति पार्कमा कलर वाटर फाउन्टेन पार्कको उद्घाटन गर्न भ्याउनुभयो । गृहनगर दमकमा मजदूर संगठनको सम्मेलनमा सम्बोधन गर्नेदेखि गौरीगञ्जमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई समेत सम्बोधन गर्न भ्याउनु भएको थियो ।

गौरादहमा आयोजित कार्यकर्ताहरुसँग भेटघाट गर्ने र समुद्र सतह भन्दा केवल ६० मीटरको उचाईमा रहेको झापाको केचना पर्यटकीय क्षेत्रको भ्रमण समेत उहाँले भ्याउनु भएको थियो । उहाँले केचना पुगेर आफ्नो बाल्यकाल, राजनीतिक कालको सम्झना गर्नुभएको थियो भने कचनकवल क्षेत्रको भौतिक पूर्वाधार र पर्यटकीय विकासका लागि अध्यक्ष ओलीले आफ्नो प्रधानमन्त्रीत्व कालमा उल्लेख्य बजेट विनियोजन गरेको स्मरण गराउनु भएको थियो ।

उहाँले आगामी दिनमा पनि भौतिक पूर्वाधारको विकासका लागि आफूले काम गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो । तीन दिने झापा बसाईका सिलसिलामा उहाँ इलामको चुलाचुलीसम्म पुग्नु भएको थियो भने त्यहाँ पार्टी प्रवेश कार्यक्रममा समेत सम्वोधन गर्न भ्याउनु भएका ओली एमाले निकट मजदुरहरुको दमक नगर सम्मेलन उद्घाटन तथा भेटघाट कार्यक्रममा पनि सहभागी हुनुभएको थियो । गौरादह ५ स्थित स्कुलचौरमा आयोजना भएको पार्टी प्रवेश तथा जनसंगठनहरुको भेटघाटमा र पार्टी निकट नेपाल उद्योग तथा व्यावसाय महासंघले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेलगायतका कार्यक्रममा सभागी भई उहाँ काठमाडौँ फर्किनु भएको थियो ।

अहिले फेरि उहाँले झापाका विभिन्न कार्यक्रममा सहभागिता जनाउनु भएको छ । कुनै समय नेपाली काँग्रेसका तत्कालिन नेता गिरिजाप्रसाद कोइराला विराटनगर पुगेपछि केही नयाँ राजनीतिक तरंग पैदा हुने गथ्र्यो । यतिसम्म कि कोइराला विराटनगर पुगेपछि राजनीतिमा केही न केही नयाँ तरंग पैदा हुने भन्दै मिडिया पनि कोइरालाको पछि दगुर्न बाध्य हुन्थे । नभन्दै उहाँ पनि केही न केही नयाँ खुराक दिएर काठमाडौँ फर्किनुहुन्थ्यो । हो, अहिले ओलीको झापा भ्रमण पनि केही न केही सन्देशसहितको हुने गरेको छ । यो पटकको भ्रमणमा पनि ओलीले झापाबाटै गठबन्धनलाई जनताले राम्रोसँग चिनिसकेको बताउँदै मंसिर ४ को निर्वाचनमा जनताले एमालेलाई रोज्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीका कार्यकर्ताहरूलाई एकताबद्ध भएर निर्धक्क साथ निर्वाचनमा जुट्न आग्रह समेत गर्नुभयो ।

नेता–नेता गठबन्धनमा रहेको र जनता एमालेमा रहेको भन्दै उहाँले जनताको पार्टी एमालेलाई कसैले हराउन नसक्ने ठोकुवा गर्नुभयो । जग बिनाको गठबन्धन धरापमा रहेको बताउँदै अध्यक्ष ओलीले अबको निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने विश्वास व्यक्त गर्नुभयो । गठबन्धनमा रहनु भएका माधव नेपाल दिनरात रोइकराई गर्दै हिडिरहेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– ‘उब्रेको खान जाँदा जुठो खान्न भन्न पाइँदैन । माधव नेपाल अहिले जुठो खान्न भनिरहेका छन्, गठबन्धनमा काँंग्रेसले छोडेका सिट मात्रै अन्य दलले पाउने हो ।’

अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारका पालामा हुलाकी सडक, अन्य सडक सञ्जालहरु, पुल पुलेसा, शिक्षा, स्वास्थ्य क्षेत्रसहित विकास निर्माणका कयौं काम गरिएको चर्चा गर्दै गठबन्धन सरकार आएपछि विकास नै रोकिएको, एमाले सरकारमा हुँदा थालिएका सबै विकासका काम रोकिएका छन् भन्नुभयो ।

उहाँले मंसिर ४ को निर्वाचनपछि एमाले सरकार बन्छ र त्यसपछि रोकिएका सबै काम अघि बढ्ने छन् भन्नुभयो । आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सूर्यमा मतदान गर्न आह्वान गर्दै अध्यक्ष ओलीले बेलैमा जनताको पार्टी रोज्न आग्रह गर्नुभयो । उहाँले राजनीतिसँगै एमाले आर्थिक क्रान्तिमा लागेको भन्दै सबै पार्टी सदस्य र शुभचिन्तकहरुलाई उत्पादनमा जोडिन आग्रह गर्नुभयो । गरिवी निवारणका लागि उत्पादन बढाउन आग्रह गर्दै अध्यक्ष ओलीले गौरीगञ्जमा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा समेत गर्नुभयो ।

झापा भ्रमणका सिलसिलामा उहाँको उपस्थितिमा नेकपा माओवादी केन्द्रका नेता विद्यानन्द राजबंशीसहित माओवादी, नेपाली कांँग्रेस, मधेशवादी दलहरुबाट सयौं नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । राजबंशी झापा निर्वाचन क्षेत्र– ५ का स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ माओवादीको प्रदेश कमिटी सदस्य हुनुहुन्थ्यो । राजबंशी स्थानीय लोकप्रिय नेता हुनुहुन्छ । यसरी एकपछि अर्को गर्दै विभिन्न दलका नेता–कार्यकर्तालाई एमालेलाई प्रवेश गराएर ओलीले आफू त्यो क्षेत्रमा बलियो रहेको मनोविज्ञान समेत विकास गर्दै आउनु भएको छ ।

यो पटक पनि उहाँ झापाको गौरीगञ्जमा भएको सभा तथा पार्टी प्रवेश कार्यक्रममा सम्वोधन गर्ने, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश नं १ कमिटीले आयोजना गरेको प्रदेशस्तरीय दुई दिने प्रशिक्षण कार्यक्रममा सम्वोधन गर्ने लगायतका कार्यक्रममा सहभागी हुनुभएको छ ।