अमलेखगञ्जमा दुई वटा पेट्रोल भण्डारण गृह बनाइने

काठमाडौं : नेपाल आयल निगमले अमलेखगञ्जमा दुई वटा पेट्रोल भण्डारण गृह बनाउने भएको छ ।

निगमले पाइपलाइनमार्फत पेट्रोल नेपाल आयात गर्न बाराको अमलेखगञ्जस्थित निगमको प्रादेशिक कार्यालयमा पेट्रोल भण्डारण गर्न दुई वटा पेट्रोल भण्डारण गृह (ट्याङ्की) निर्माणको काम अघि बढाएको छ ।

हाल निगमले भारतको विहारस्थित मोतिहारीदेखि नेपालको बारास्थित अमलेखगञ्जसम्म करिब ६९ किमी लामो पाइपलाइनमार्फत डिजेल आयात गर्दै आएको थियो । निगमले अब भने उक्त पाइपलाइनबाटै पेट्रोलसमेत आयात गर्न निगमको अमलेखगञ्जस्थित डिपो परिसरमा दुई वटा भण्डारण ट्याङ्की निर्माणको काम अघि बढाएको हो ।

जसका लागि भारतीय आयल कर्पोरेसनले पेट्रोल भण्डारण गृह निर्माणका लागि आवश्यक ठेक्का प्रक्रिया पूरा गरिसकेकाले आगामी दसँैपछि भण्डारण गृह निर्माण काम सुरु हुने अमलेखगञ्जस्थित निगमको प्रादेशिक कार्यालयका प्रमुख इञ्जिनीयर प्रदीप यादवले जानकारी दिनुभयो ।

नेपालतर्फको पाइपलाइनको अन्तिम बिन्दु अमलेखगञ्जमा पेट्रोल भण्डारण गृह निर्माण भएपछि पाइपलाइनमार्फत नेपालमा पेट्रोल आयात गर्न थप सहज हुनेछ ।

करिब रु तीन अर्ब २६ करोडको लागतमा निर्माण हुने दुई वटा पेट्रोल भण्डारण ट्याङ्की निर्माणको कार्य आगामी सन् २०२४ को जनवरीसम्म सम्पन्न हुने लक्ष्य रहेको छ । हाल मोतिहारीदेखि अमलेखगञ्जसम्म करिब ६९ किलोमिटर लामो पाइपलाइनबाट प्रतिघण्टा दुई लाख ५० किलोलिटरका दरले डिजेल आयात भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *