अब सिमकार्ड बिनै मोबाइल चल्ने, टेलिकमले आजदेखि ई–सिम वितरण गर्ने
काठमाडौं : नेपाल टेलिकमले आजदेखि ग्राहकलाई निःशुल्क ई–सिम वितरण गर्ने भएको छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।
हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने छ ।
त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।
उनका अनुसार ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्नेछ ।
ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन ।
यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।
मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ ।