देशभर बदली : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ७ भदौ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभरिको मौसममा बदली र वर्षाको क्रम जारी रहेको हो ।

अहिले बिहान देशभर साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । पहाडी भेगका धेरै स्थान र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । विशेषगरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । यस्तै, हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ ।

आज राति पनि देशभरको मौसममा बदली रहनेछ । हिमाली क्षेत्रमा मध्यम वर्षा र हिमपातको सम्भावना कायम रहनेछ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा मध्यम वर्षा हुने प्रक्षेपण गरिएको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्राकृतिक प्रकोपको जोखिम उच्च रहने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।