महिला फुटबल खेलमा बङ्गलादेश फाइनलमा

काठमाडौं : छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भुटानलाई पराजित गर्दै बङ्गलादेश फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८–० गोल अन्तरले पराजित गर्दै बङ्गलादेश फाइनल पुगेको हो ।

बङ्गलादेशले खेल सुरुआती दोस्रो मिनेटमा मोसाम्मतको गोलबाट सुरुआती अग्रता बनायो ।

खेलको १८ औँ मिनेटमा सविनाले गोल गर्दै बङ्गलादेशको अग्रता २–० को बनाइन् ।

त्यसपछि खेलको ३० औँ मिनेटमा श्रीमोतीले गोल गर्दा बङ्गलादेशको अग्रता तेब्बर बन्यो भने खेलको ३५ औँ मिनेटमा रितुले गोल गरेपछि पहिलो हाफमा बङ्गलादेश ४–० ले अघि बढेको थियो ।

त्यसैगरी खेलको दोस्रो हाफमा बङ्गलादेशले थप चार गोल गर्यो । खेलको ५४ औँ मिनेटमा सबिनाले गोल गर्दै टिमको अग्रता ५–० को बनाइन् ।

खेलको ५७ औँ मिनेटमा मसुराले गोल गर्दा बङ्गलादेश ६–० ले अघि रह्यो । खेलको ८७ औँ मिनेटमा तोहोराले गोल गरेपछि बङ्गलादेश ७–० ले अघि रह्यो ।

त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा सविनाले ह्याट्रिक पूरा गर्दै बङ्गलादेशलाई ८–० को जित दिलाइन् ।

दोस्रो सेमिफाइनल खेलमा नेपाल र भारत भिड्नेछन् । अब बङ्गलादेशले आजै हुने अर्को सेमिफाइनल खेलको विजेता टोलीसँग फाइनल खेल्नेछ ।

नेपाल र भारतबीचको खेल आज साँझ ५ः३० बजे सुरु हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *