एमाले बैठक सकियो, समानुपातिक उम्मेदवारको तय भोलि हुने
काठमाडौँ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ओली निवास बालकोटमा सुरु भएको केन्द्रीय सचिवालयको बैठक सम्पन्न भएको छ ।
बैठकमा आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारहरुको नामावली भोलि तयार गर्ने निर्णयबारे छलफल भएको प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बैठकमा तीन वटा निर्णय भएको जानकारी दिनुभयो । बैठकमा महासचिव शंकर पोखरेलले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारहरुका बारेमा जानकारी गराउनु भएको थियो ।
संघीयतर्फ ११० जना र प्रदेशतर्फ २२० जना उम्मेदवारहरुको सूची बनाउन विविध मापदण्ड, समावेशितलाई ध्यान एवम् क्लस्टरलाई ध्यानमा राखेर बनाउनेबारे छलफल भएको गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार अध्यक्षओलीले आरक्षणका क्षेत्रहरु महिला,दलित,जनजाती,पिछडिएको क्षेत्र,अल्पसंख्यक,अपांगता भएका क्षेत्रबाट समानुपातिक प्रणालीमा के कति संख्यामा सिफारिस हुन्छन् भनेर बैठकलाई जानकारी गराउनु भएको थियो ।
