वाङ्मय शताब्दीपुरुष जोशीको स्वास्थ्यमा क्रमिक सुधार
काठमाडौं, १० असोज । गत हप्ता विरामी भई अस्पताल भर्ना हुनुभएका वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको छ ।
डेंगू र युरिन इन्फेक्सन भएका जोशी उपचारका क्रममा किष्ट अस्पतालमा भर्ना हुनुभएको हो । अस्पताल भर्ना भएपछि उहाँको स्वास्थ्यस्थिति क्रमशः सुधार हुँदै आएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।
उहाँको स्वास्थ्यस्थिति सुधार भएमा भोलितिरै डिस्चार्ज हुन सक्ने आशा पनि परिवारले गरिरहेको बताइएको छ ।
गत असोज ७ गते बसेको मन्त्रिपरिषद् बैठकले अस्पतालबाट डिस्चार्ज भएपछि जोशीको स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट एक जना नर्सको व्यवस्था गर्ने निर्णय गरेको छ ।
योभन्दा अघि ललितपुर महानगरपालिकाबाट पनि जोशीको सुविधाका लागि एउटा मोबाइल फोन र चालक सहित एउटा गाडी उपलब्ध गराएको थियो । तर जोशीले यी दुवै साधनको खासै प्रयोग भने गर्नुभएको छैन ।
१०३ वर्षीय वरिष्ठ संस्कृतिविद् जोशी हाल घरबाट बाहिर जानु नभए पनि आफ्नै निवासमा आयोजना हुने कार्यक्रमहरुमा भने सहभागी हुँदै आउनुभएको छ ।
