यो वर्ष मनाङमा पर्यटक भरिभराउ, तर दशैंको बेला नै हिमपात

काठमाडौं, २२ असोज । धेरै वर्षको अन्तरालपछि मनाङ जिल्लामा हिउँ परेको छ । यो वर्ष दशैंकै बेला देशभर अचानक आएको वर्षाका कारण उच्च हिमाली क्षेत्र मनाङमा हिउँ परेको हो । अस्ति मनाङमा हिउँ परेको भए पनि हिजो हिउँ थामिएको तर पानी भने परिरहेको छ ।
स्थानीय मनाङ गाउँका मेङ्खु गुरुङले बताउनुभए अनुसार पानी परिरहेका कारण खेतमा सुकाइराखेको फापर पनि धेरै नोक्सान भएको छ । उहाँका अनुसार यसपाली मनाङभरि नै कीरा लागेर फापर बिग्रेको थियो । अहिले हिउँ र वर्षाका कारण केही बचेको फापर पनि नोक्सान हुन पुगेको छ ।
हिमपात रोकिए पनि पानी भने परिरहेकै कारण लमजुङको बेसीशहरदेखि मनाङको चामेसम्म पुग्ने बाटो पनि धेरै ठाउँमा बन्द भएको छ । अहिले यो बाटोको स्यांगे, रामबजार आदि लगायत चार ठाउँमा पहिरो गई यातायात अवरुद्ध भएको सोही मार्गमा बोलेर चलाउने स्थानीय चालक अजय गुरुङले बताउनुभएको छ ।
हिजो काठमाडौंबाट सम्पर्क गर्दा उहाँ बेसीशहरमा सुतिरहनुभएको थियो । उहाँले भन्नुभयो, ‘बाटै बन्द छ, त्यसैले म त सुतिरहेको ।’
बाटो तत्काल खोल्न एस्काभेटर चलाउने प्रयास गरिएको भए पनि एस्काभेटर चालकहरु सबै दशैं मान्न घर गइरहेका कारण तत्काल बाटो खोल्ने सम्भावना नभएको उहाँले बताउनुभयो । ‘अब तीन चार दिनसम्म पनि बाटो खुल्ने सम्भावना छैन’ उहाँले भन्नुभयो ।
मनाङमा भएको एउटै मात्रै गाडी चल्ने बाटो यही नै हो । बाटो बन्द भएका कारण मनाङ हिँडेका धेरै यात्रुहरु बाटैमा अलपत्र परेका छन् ।
माथि तिलिचो ताल र थोराङ ला पास पदयात्रामा हिँडेका विदेशी पर्यटकहरु पनि उतै रोकिएका छन् । कतिपय पर्यटकहरु भने हेलिकप्टरबाट पनि फर्किन थालेका छन् ।
मनाङमा यो वर्ष धेरै पर्यटक आएका कारण व्यवसायीहरु उत्साहित छन् । भूकम्प, कोरोना महामारी र पोहोर सालको बाढीका कारण मनाङको पर्यटन व्यवसाय खस्कँदो अवस्थामा थियो । यसपाली सोचेभन्दा बढी पर्यटक आएका कारण मनाङका सबै होटलहरु भरिभराउ छन् ।
३५४० मिटर उचाइमा रहेको मनाङ–ङिस्याङ गाउँपालिका वडा ४ स्थित रोयल मनाङ होटलका सञ्चालक छिरिङ गुरुङका अनुसार यो वर्ष मनाङको पर्यटन अत्यन्त राम्रो अवस्थामा आएको छ । होटलहरु सबै बुक छन् । पर्यटकहरुलाई रुम छैन भन्दै फर्काउन परिरहेको छ ।
पर्यटकीय क्षेत्र मनाङ गाउँमा सवारी साधन निषेध गरिएको छ । गाउँ प्रवेश गर्नु अघि सवारी साधनलाई बाहिरै पाकै गरी पैदल जाने व्यवस्था गरिएको छ ।
उहाँका अनुसार धेरै वर्षपछि मनाङमा पर्यटकको भिड लाग्न थालेको हो । योभन्दा अघिल्लो वर्षको व्यापार निकै कठिन अवस्थामा थियो ।
यही ठाउँमा कार्यालय रहेको अन्नपूर्ण कन्जरवेशन एरिया प्रोजेक्ट ९एक्याप० का अनुसार हाल मनाङमा त्यहीं बस्ने र पदयात्रा गरी अगाडि बढ्ने समेत गरी दैनिक १ हजारका दरले पर्यटकहरु भित्रिरहेका छन् । यो गत तीन वर्षकै सबैभन्दा ठूलो संख्या हो । यहाँ प्रवेश गर्ने हरेक पर्यटकले प्रति व्यक्ति रु। तीन हजार शुल्क बुझाउनु पर्दछ र यहाँ पुगेपछि आफ्नो रजिष्टर गरेर मात्र अघि जानु पर्दछ ।
मनाङ जिल्लाको प्रमुख केन्द्र नै मनाङ गाउँ हो । यो गाउँको पर्यटकीय क्षेत्रमा हाल करिब १५ वटा जति होटलहरु छन् । केही नयाँ पनि बनाइरहेका छन् । पर्यटकहरु यही ठाउँमा एक रात बास बसेर तिलिचो ताल र थोराङ ला पासका लागि प्रस्थान गर्दछन् ।
५४१६ मिटर उचाइमा रहेको थोराङ ला पास पार गरी मुस्ताङ पुग्न सकिन्छ । पर्यटकहरु मनाङ हुँदै यही पासबाट मुस्ताङ पुग्ने र त्यहाँबाट जोमसोमको बाटोबाट पोखरा जाने गर्दछन् ।
( मनाङको एक्याप कार्यालयमा नाम दर्ता गराउन पालो पर्खिरहेका पर्यटकहरु ।)
( मनाङको ङिस्याङमा देखिएका पर्यटकहरु।)
सुरेश किरण