वर्षाका कारण बागलुङको निसीखोलाका दुई विद्युत् आयोजना अवरुद्ध

बागलुङ, २३ असाेज । पाँच दिनदेखिको निरन्तरकाे वर्षाका कारण बागलुङको निसीखोला गाउँपालिकामा दुईवटा जलविद्युत् आयोजना क्षति भएकाे छ । आयोजनामा क्षति पुगेपछि त्यहाँका हजारौँ नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् ।

निसीखोला –४ र ५ मा रहेका विद्युत् आयोजनामा बाढी पस्दा र पहिराले नहर बगाउँदा अवरुद्ध भएको हो ।

निसीखोला पहिलो लघुजलविद्युत् आयोजनाको विद्युत् गृहमा बाढी बसेर अवरुद्ध बनेको स्थानीय मनबहादुर घर्ती मगरले जानकारी दिनुभयो । निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको भने नहर भत्किएपछि अवरुद्ध भएको आयोजनाका व्यवस्थापक रामप्रसाद चालिसेले जानकारी दिनुभयो ।

वर्षाको कारण विद्युत् सञ्चालनमा ल्याउन समस्या भएको छ । पहिराले नहर जोखिममा पर्ने बित्तिकै बनाउन सुरु गरे पनि अझै पाँच दिन विद्युत् सञ्चालन गर्न नसकिने चालिसेले बताउनुभयो ।

दुईवटा विद्युत् आयोजना अवरुद्ध हुँदा यहाँका दर्जनौँ साना तथा घरेलु उद्योगहरु ठप्प भएका छन् । विद्युत् अवरुद्ध भएपछि दसैँसमेत खल्लो भएको स्थानीयको भनाइ छ ।

निसीखोला पहिलो लघुजलविद्युत् आयोजनाको भने विद्युत् गृहभित्र बाढीसहित पसेको लेदो सफा गर्ने काम भइरहेको आयोजनाले जनाएको छ ।

दुई विद्युत् आयोजना अवरुद्ध हुँदा निसीखोला गाउँपालिका–३, ४ र ५ का करिब १० हजार नागरिक अन्धकारमा बस्न बाध्य भएको व्यवस्थापक चालिसेले जानकारी दिनुभयो ।