नवौँ राष्ट्रिय खेलकुद : उद्घाटन समारोहका कारण नवलपुरमा दुई खेल हुने

नवलपरासी, २३ असाेज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत नवलपुरमा दुई खेल हुने भएका छन् । यही असोज २८ गते कास्कीको पोखरामा उद्घाटन समारोह तय गरिएकाले दुई खेल नवलपुरमा खेलाइने तय भएको हो ।

प्रतियोगितामा समावेश भएका ३६ खेलमध्ये नवलपरासीकाे नवलपुरमा कुस्ती र सेपाताक्रो खेल हुन लागेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनले जानकारी दिनुभयो ।

नवलपुर सदरमुकाम कावासोतीमा दुवै खेल खेलाइने छन् । सेपाताक्रो कावासोती– २ स्थित योङ्ग स्टार क्लबको कभर्डहलमा असोज २९ देखि कात्तिक २ गतेसम्म सञ्चालन हुने छ । सेपाताक्रो खेलमा देशभरबाट ९८ खेलाडी सहभागी हुने पुनले बताउनुभयो ।

यसैगरी नवौँ राष्ट्रिय खेलकुदअन्र्तगत कुस्ती प्रतियोगिता कावासोती–१६ डण्डस्थित थारू सङ्ग्रहालय परिसरमा सञ्चालन हुने अध्यक्ष पुनले जानकारी दिनुभयो ।

कुस्तीमा देशभरबाट एक सय ५८ खेलाडी सहभागी हुने छन् । दुवै स्थानमा प्रतियोगिताको तयारी जारी छ । दुवै खेलको बन्द प्रशिक्षण नवलपुरमा चलिरहेको छ ।