हाँडीगाउँ जात्राको बाटोमा रोकिएको गाडी तोडफोड
काठमाडौं, २५ असोज । काठमाडौँको हाँडीगाउँमा हिजो सोमवार सम्पन्न भएको चोक्काथुनारायणको जात्रामा बीच बाटोमा रोकिएको गाडी तोडफोड भएको छ । जात्रा चलाउनुपर्ने बाटोको बीचमै रोकिराखेको उक्त गाडी हटाउन अनुरोध गर्दा पनि हटाउने मान्छे कोही नआएपछि जात्रालुहरुले गाडी नै तोडफोड गरेका थिए ।
कालो रंगको उक्त कार कसको हो थाहा हुन सकेको छैन ।
काठमाडौंमा मनाइने राष्ट्रिय महत्वका जात्रा पर्वहरूलाई सहज तुल्याउन ती जात्रा हुने स्थानमा जात्रा अवधिभरी सवारी साधन निषेध गर्नुपर्ने आवाज उठिरहँदा पनि सम्बन्धित निकायले ध्यान नदिएको गुनासो स्थानीयवासीहरुको रहेको छ ।
यसै कुरालाई ध्यानमा राखी गएको इन्द्रजात्रामा काठमाडौंको भित्री क्षेत्रमा सवारी साधन निषेध गरिएको थियो ।
जात्राका देवताहरु भोलि भित्र्याइने
हाँडीगाउँको जात्रा हिजो सम्पन्न भए पनि जात्रामा नगर परिक्रमा गराइएका देवताहरुलाई भने भोलि मात्रै भित्र्याउने परम्परा रहेको छ । जात्रा सम्बन्धी गुठीका सदस्य कुलनारायण डंगोलका अनुसार तीन वटै खटका देवताहरूलाई आज दिनभरि खटमै राख्ने गरिन्छ ।
उहाँका अनुसार यी तीन वटा खटहरू हाँडीगाउँका तीन वटा टोलहरूमा राख्ने गरिन्छ । आज यी खटहरू नरः थथुत्वाः, न्याल्मा त्वाः र कुताः त्वाः गरी तीन वटा टोलहरूमा राखिएका छन् । भोलि बिहान यी तीनवटै खटहरूबाट देवताहरू ओराली मुख्य पुजारीको निवासमा लाने गरिन्छ ।
गुठियार डंगोलका अनुसार यी देवताहरू पुजारीको घरमा लगेर राखेपछि एक वर्षसम्म त्यहीं रहन्छ । अर्को वर्षको जात्रामा मात्रै यी देवताहरूलाई बाहिर ल्याउने गरिन्छ । तीन वटा खटमा तीन देवताको जात्रा चलाउने भएकोले यो जात्रालाई ‘तीन नारायणको जात्रा’ पनि भनिन्छ ।
यो जात्रामा देवताको खटलाई गजुर उल्टो पारी अनौठो तरिकाले घुमाउँदै नगर परिक्रमा गरिने भएकोले यसैलाई लिएर नेपाली समाजमा ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने उखान पनि प्रचलित छ । तथापि यो जात्राका नाम नै ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भने होइन । यसलाई चोकेटनारायण वा चोक्काथुनारायणको जात्रा भन्ने गरिएको पाइन्छ । यो जात्राका नाममा गुठी बनाई आयस्ताका रुपमा जग्गाको व्यवस्था पनि गरिएको थियो ।
काठमाडौं नगरभित्र विद्यमान हाँडीगाउँ यहाँको अत्यन्त पुरानो प्राचीनकालीन वस्तीका रूपमा परिचित रहेको छ । लिच्छविकालमा काठमाडौं उपत्यकाको राजधानी नै यही क्षेत्रमा रहेको अनुमान इतिहासकारले गरेका छन् । लिच्छविकालीन अभिलेखहरूमा यो ठाउँलाई ‘एंडीग्राम’ भनी उल्लेख गरिएको पाइन्छ । ‘एंडीग्राम’ शब्द नै अपभ्रंश हुँदै अहिलेको ‘हाँडीगाउँ’ हुन गएको हो । कसै कसैले यो ठाउँमा नारायणका मूर्ति एवं मन्दिरहरू धेरै भएकोले ‘हरि गाउँ’ भनिएको र ‘हरि गाउँ’ बाटै ‘हाँडी गाउँ’ बन्न गएको पनि भन्ने गरेको पाइन्छ ।
नेपाली इतिहासमा अत्यन्त चर्चा हुने मानदेवकृत मानगृह, अंशुवर्माकृत कैलाशकूट भवन र नरेन्द्रदेवकृत भद्राधिवास नामक ठूला एवं भव्य दरवारहरू समेत यही क्षेत्रमा रहेको अनुमान गरिएको छ । अहिले पनि यो क्षेत्रको कुनै पनि ठाउँमा खाल्डो खन्दा पुराना भग्नावशेषहरु भेटिने गरेको स्थानीयवासीहरू बताउनुहुन्छ ।
यस्तो ऐतिहासिक ठाउँको जात्रा भएकोले चोकेटनारायणको यो जात्रा पनि महत्वपूर्ण रहेको बताइन्छ ।