जीवाश्म इन्धनको विवादले कोप–३१ जलवायु सम्मेलन निष्कर्षविहीन

एजेन्सी, ७ मङ्सिर । जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा सदस्य राष्ट्रहरूबीच सहमति जुट्न नसक्दा टर्कीमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) साझा निष्कर्षविहीन बनेको छ ।

सम्मेलनको अन्तिम दस्तावेजमा कोइला, तेल र ग्यासजस्ता जीवाश्म इन्धनको प्रयोगबारे स्पष्ट प्रतिबद्धता समेट्ने वा नसमेट्ने भन्ने विषयमा विवाद भएपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो ।

वार्षिक जलवायु सम्मेलनले जलवायु परिवर्तनविरुद्ध विश्वका मुलुकहरूले चाल्नुपर्ने कदम समेटिएको ‘कभर डिसिजन’ नामक साझा दस्तावेज जारी गर्ने प्रयास गरेको थियो । तर, टर्कीले प्रस्तुत गरेको मस्यौदामा जीवाश्म इन्धनसम्बन्धी स्पष्ट प्रतिबद्धता समावेश नगरिएपछि विभिन्न देशले असन्तुष्टि जनाएका थिए ।

आयरल्यान्डका जलवायु, ऊर्जा तथा वातावरणमन्त्री डाराग ओ’ब्रायनले युरोपेली सङ्घ (इयु) का २७ सदस्य राष्ट्रका तर्फबाट बोल्दै प्रस्तावित दस्तावेजले जलवायु परिवर्तनको सामना गर्न आवश्यक कार्ययोजना र महत्वाकाङ्क्षा समेट्न नसकेको बताउनुभयो । जीवाश्म इन्धनको उल्लेख नै नभएको जलवायुसम्बन्धी निर्णय स्वीकार गर्न नसकिने उहाँको भनाइ थियो ।

पानामाकी प्रमुख जलवायु वार्ताकार एना एगुइलारले विज्ञान र वास्तविकताले माग गरेको कदम चाल्नुको सट्टा पुराना प्रतिबद्धता दोहोर्‍याउने काम मात्र भएको टिप्पणी गर्नुभयो । उहाँले कार्बन कब्जा तथा भण्डारण प्रविधिमा अत्यधिक निर्भरता देखाइएको र यसअघि भएका सहमतिका भाषासमेत कमजोर बनाइएको बताउनुभयो । उहाँले यसलाई जलवायु न्यायसँग जोडिएको विषयका रूपमा व्याख्या गर्नुभयो ।

त्यस्तै, मार्सल टापुकी जलवायु दूत तथा प्रमुख वार्ताकार क्याथी जेतनिल–किजिनरले विश्व समुदायले उत्सर्जन घटाउने, जनताको सुरक्षा गर्ने र जलवायु वित्त उपलब्ध गराउने विषयमा तत्काल ठोस कदमको अपेक्षा गरेको बताउनुभयो । जीवाश्म इन्धनको विस्तारलाई प्रोत्साहन गर्ने र गलत समाधान प्रस्तुत गर्ने प्रस्ताव स्वीकार गर्न नसकिने उहाँको भनाइ थियो ।

संयुक्त अधिराज्यकी प्रमुख जलवायु वार्ताकार केट ह्युजेसले पनि प्रस्तावित दस्तावेजले जलवायु विज्ञान र त्यसअनुसारको कार्यान्वयनलाई पछाडि धकेल्ने बताउनुभयो । जलवायु कार्यमा सामूहिक महत्वाकाङ्क्षा बढाउनुपर्ने समयमा प्रस्तावले त्यसलाई कमजोर बनाएको उहाँको टिप्पणी थियो ।

यद्यपि, सबै देशले प्रस्तावित मस्यौदाको विरोध गरेका थिएनन् । पलाउका वातावरणमन्त्री स्टिभन भिक्टरले केही कमजोरी भए पनि स्वच्छ विद्युतीकरण, समुद्री संरक्षण र जलवायु वित्तजस्ता सकारात्मक विषय समेटिएकाले दस्तावेजलाई समर्थन गरेको बताउनुभयो ।

कार्बन कब्जासम्बन्धी प्रावधानमा असहमति रहे पनि अन्य सकारात्मक विषयलाई बेवास्ता गर्न नहुने उहाँको भनाइ थियो । साझा ‘कभर डिसिजन’ पारित हुन नसके पनि अन्य कार्ययोजना स्वीकृत भएकाले सम्मेलनलाई पूर्ण असफलता भन्न नमिल्ने उहाँले उल्लेख गर्नुभयो ।

कोप–३१ वार्ताका अध्यक्ष तथा अस्ट्रेलियाका जलवायु तथा ऊर्जा मन्त्री क्रिस बोवेनले साझा दस्तावेजमा सहमति जुट्न नसकेकोप्रति निराशा व्यक्त गर्नुभयो । केही मुलुकको जीवाश्म इन्धनसम्बन्धी अडान निकै कडा रहेकाले सहमति कायम गर्न कठिन भएको उहाँले बताउनुभयो ।

यद्यपि, वास्तविक विश्वमा जीवाश्म इन्धनबाट स्वच्छ ऊर्जातर्फको रूपान्तरण अपरिहार्य रहेको र यो प्रक्रिया निरन्तर अघि बढिरहेको उहाँको भनाइ थियो ।

जीवाश्म इन्धनको प्रयोगले हरितगृह ग्यास उत्सर्जन बढाएर विश्वव्यापी तापक्रम वृद्धिमा योगदान पुर्‍याउँदै आएको छ । त्यसैले यसको प्रयोग क्रमशः घटाउँदै स्वच्छ तथा नवीकरणीय ऊर्जातर्फ रूपान्तरण गर्ने विषय अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्रमुख मुद्दा रहँदै आएको छ । कोप–३१ मा समेत यही विषयमा साझा धारणा बन्न नसक्दा विश्वव्यापी जलवायु प्रयासमा थप चुनौती देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *