बागमती–विष्णुमती सफा गर्ने अभियानमा जुटौँ : मन्त्री श्रेष्ठ, सुन्दर काठमाडौँ निर्माणमा सुनिता डङ्गोलको जोड
काठमाडौँ, ७ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बागमती र विष्णुमती नदीलाई स्वच्छ बनाउँदै काठमाडौँलाई सुरक्षित, सुन्दर र बस्नयोग्य सहरका रूपमा विकास गर्न सबै पक्षलाई सहकार्य गर्न आह्वान गर्नुभएको छ ।
‘काठमाडौँ जलवायु कार्य सप्ताह’लाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नदी संरक्षण, बाढी नियन्त्रण तथा सहरी पर्यावरण सुधारका लागि सङ्घीय सरकारका तर्फबाट ठोस कार्ययोजना अघि सारिएको जानकारी दिनुभयो । काठमाडौँ क्षेत्र नं ८ का सांसदसमेत रहनुभएका उहाँले जलवायु परिवर्तनका चुनौती सामना गर्न सरकार, स्थानीय तह र नागरिकबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
उहाँले अव्यवस्थित सहरीकरणका कारण खेत, पोखरी तथा खुला जमिन मासिँदै गएको र जथाभावी कङ्क्रिटका संरचना निर्माण हुँदा सहरको तापक्रम बढ्नुका साथै बाढीको जोखिमसमेत बढेको उल्लेख गर्नुभयो । वर्षाको पानी जमिनमुनि सोसिने प्राकृतिक क्षेत्र घट्दै जाँदा सहरी बाढीको समस्या जटिल बन्दै गएको उहाँको भनाइ थियो ।
धुलो र धुवाँका कारण शताब्दीयौँ पुराना मन्दिर तथा ऐतिहासिक सम्पदाको अवस्था बिग्रँदै गएको उल्लेख गर्दै उहाँले सहरी वातावरण संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । जलवायु परिवर्तनले थप सङ्कट निम्त्याइरहेको भन्दै मन्त्री श्रेष्ठले छोटो अवधिमै विभिन्न नदी करिडोरमा ठूला ढुङ्गा र गेग्रानसहितको बाढी आउनु, हिमपहिरो जानु तथा हिमनदी पग्लिनु गम्भीर चेतावनी भएको बताउनुभयो ।
उहाँले पछिल्ला चार वर्षमा लोप हुने अवस्थामा पुगेका पुराना ढुङ्गेधारा (हिटी) र राजकुलो पुनः सञ्चालनमा ल्याएर भूमिगत जलभण्डार संरक्षणमा योगदान पुर्याएको भन्दै काठमाडौँ महानगरपालिका, कार्यवाहक प्रमुख सुनिता डङ्गोलकाे प्रशंसा गर्नुभयो ।
बाढीको जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली र हिमनदी अनुगमन प्रणाली जडान गर्ने योजना अघि बढाइएको उहाँले जानकारी दिनुभयो । वर्षा मापन, सहरी बाढीको पूर्वानुमान तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागमार्फत काठमाडौँ महानगरपालिका र अन्य सहरसँग सहकार्य गरिने उहाँको भनाइ थियो ।
यस प्रणालीमार्फत बाढी आउनुअघि नै सम्बन्धित वडा तथा घरपरिवारसम्म सूचना पुर्याउने लक्ष्य राखिएको मन्त्री श्रेष्ठले बताउनुभयो । प्रविधि विकासमा युवाको सक्रियताको प्रशंसा गर्दै उहाँले कक्षा १२ का विद्यार्थीले मोबाइल नेटवर्कबिनै विपद्सम्बन्धी सूचना पठाउन सक्ने सञ्चार प्रणाली विकास गरेको उदाहरणसमेत प्रस्तुत गर्नुभयो ।
त्यसैगरी भविष्यको काठमाडौँलाई हरियाली, सुरक्षित र वातावरणमैत्री सहरका रूपमा विकास गर्ने परिकल्पना गरिएको उहाँले बताउनुभयो । रूखले भरिएका शीतल सडक, १५ मिनेटमै पैदल पुग्न सकिने ऐतिहासिक टोल तथा बहाल, चोरी भएका मूर्तिको फिर्ती, साइकल लेन र चराचुरुङ्गीको चिरबिरले गुञ्जिने सफा बागमती तथा विष्णुमती करिडोर निर्माण गर्ने लक्ष्य रहेको उहाँको भनाइ थियो ।
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले पनि सुन्दर, स्वच्छ र व्यवस्थित काठमाडौँ निर्माणका लागि सहरी वातावरण तथा प्राकृतिक सम्पदाको संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । नदी तथा जलस्रोत संरक्षण, हरियाली प्रवर्द्धन र जलवायु परिवर्तनका असर न्यूनीकरणमा महानगरपालिकाले गरिरहेका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्ने उहाँको धारणा रहेको छ ।
