डेङ्गु तथा ज्वरोका बिरामी बढेसँगै धादिङमा सिटामोलकाे अभाव

धादिङ, २६ असाेज । धादिङमा डेङ्गु तथा ज्वरोका बिरामी बढेसँगै सिटामोल अभाव भएको छ । सिटामोलको अत्यधिक माग भएपछि धादिङबेँसीका निजी मेडिकलमा समेत सिटामोल पाइन छाडेको छ ।

धादिङमा सिटामोल अत्यावश्यक भएकालाई सिटामोल मिसिएका अन्य औषधि दिने गरिएको व्यवसायीले बताएका छन् । डेङ्गुका बिरामीलाई सिटामोल अत्यावश्यक पर्ने भएकाले बिरामी बढेको बेला अभाव भएको हाे । अभाव पूर्ति गर्नका लागि कुनैपनि निकायबाट पहल भने भएको छैन ।

धादिङबेँसीस्थित धादिङ अस्पतालमा उपचार गराउन आउने बिरामीका लागि सिटामोल उपलब्ध हुने भए पनि औषधि बिक्री गर्ने अस्पतालको फार्मेसीमा भने मागेजति सिटामोल दिन सकिने अवस्था नभएको फर्मोसीका सञ्चालकले बताएका छन् । निजी मेडिकलमा सिटामोल अभाव भएको हाे ।

धादिङबेँसीस्थित रुपा मेडिकलमा सिटामोल मङ्गलबार नै सकिएको छ । सिटामोल किन्न आउनेलाई यत्तिकै फर्काउनुपरेको छ । सरकारी अस्पतालले सिटामोल दिन नसकेपछि अस्पतालले लेखिदिएको पुर्जा बोकेर बिरामी बजार–बजार चहार्न थालेका छन् ।

डेङ्गुका बिरामी बढेको बेला धेरै सिटामोल चाहिने भए पनि कम्पनीले सिटामोल नदिएको रुपा मेडिकलका सञ्चालक गोपी श्रेष्ठको भनाइ छ । धादिङमा गत साउन १ गतेयता करिब तीन महिनाको अवधिमा एक हजार ८६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । अस्पतालमा बिरामीको चापले शय्या भरिएका छन् ।