देवघाटका अल्पसङ्ख्यक जातिको परिवारको निःशुल्क स्वास्थ्य बीमा

तनहुँ, ३० असाेज । तनहुँको देवघाट गाउँपालिकाले अल्पसङ्ख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरेको छ ।

चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा समावेश गरिएबमोजिम गाउँपालिकाले अल्पसङ्ख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा सुरु गरेको हो ।

गाउँपालिकाले वडा नं ५ को गणेश टोलबाट अल्पसङ्ख्यक जातिको स्वास्थ्य बीमा सुरु गरेको वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिनुभयो ।

यस टोलका २७ बोटे परिवारको स्वास्थ्य बीमा गरिएको छ । यस वडामा दुई सय ५० भन्दा बढी घरधुरी बोटे जातिको छ ।

गाउँपालिकाका पाँच वटामध्ये सबैभन्दा बढी बोटे परिवार यही वडामा बसोबास गर्छन् । साथै यो वडामा एक परिवार चेपाङको बसोबास रहेको छ भने गाउँपालिकाभरी दुई परिवार बराम जातिको छ । “सबै वडामा अल्पसङ्ख्यक परिवारको तथ्याङ्क सङ्कलन भइरहेको छ”, उहाँले भन्नुभयो ।

आर्थिकरूपमा विपन्न र पछाडि पारिएका व्यक्तिलाई स्वास्थ्यको पहुँचसम्म ल्याउन निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताउनुभयो ।

पाँच जनासम्म सदस्य रहेको परिवारको बीमाका लागि वार्षिक रु तीन हजार पाँच सय शुल्क तिर्नुपर्छ । पाँच जनाभन्दा माथि भए प्रतिव्यक्ति रु सात सयका दरले रकम बुझाउनुपर्ने प्रावधान छ । गाउँपालिकाले स्वास्थ्य बीमा गरिदिन थालेपछि अल्पसङ्ख्यक जातिका व्यक्ति खुसी भएका छन् ।