तनहुँमा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु
तनहुँ, ४ कात्तिक । तनहुँमा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएकाे छ । तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा आज बिहान एक बालिकालाइ चितुवाले आक्रमण गरेकाे थियाे ।
आक्रमणबाट मृत्यु हुनेमा ११ वर्षीया बीना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो । बिहान ६ः३० बजेको समयमा चितुवाले आक्रमण गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको थियो ।
“घरदेखि सानिआमाको घरको दूरी दुई सय मिटर छ, बाटोमा सालघारी पर्छ, सानिआमाको घर आउनुभन्दा ५० मिटर वर चितुवाले आक्रमण गरेछ”, उहाँले भन्नुभयो । बालिका सोही वडाको जनता प्राविमा कक्षा ५ मा अध्ययनरत छिन् ।
पछिल्लो समय बन्दीपुरमा चितुवाको आक्रमण बढ्दो छ । गत असारमा बन्दीपुर गाउँपालिका–१ र ४ मा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।
