एक्लोपनको कथामा ‘महापुरुष’, आजदेखि विभिन्न हलमा

काठमाडाैं, ११ कात्तिक । फ्राइडे फिल्मअन्तर्गत ‘महापुरुष’ आजदेखि विभिन्न हलमा प्रदर्शन भएको छ । एकल प्रदर्शनमा आएको फिल्मलाई जात्रा, शत्रु गते र जात्रै जात्रा निर्देशन गरेर दर्शक र समीक्षकको मन जितिसक्नु भएका निर्देशक प्रदीप भट्टराईले लेखन र निर्देशन गर्नुभएको हाे ।

सार्वजनिक प्रदर्शन अगावै यसको काठमाडौँमा वल्र्ड प्रिमियर र उपत्यकाबाहिर चितवन र इटहरीमा मोफसल प्रिमियर भइसकेको छ । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरु विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अन्जना बराइलीकाे मुख्य भूमिकामा रहेको फिल्ममा एक्लोपनको विषयवस्तु देखाइएको छ ।

फिल्म आदर्शनगर भन्ने समाजबाट सुरु हुन्छ । जहाँ देखिँदा सबै आदर्शवादी छन् । अन्यले पनि त्यहाँको सभ्य समाजको चर्चा गर्ने गरेका छन् । फिल्ममा बालकृष्ण (हरिवंश)ले अवकाशप्राप्त शिक्षकको भूमिका निर्वाह गर्नुभएको छ ।

आदर्शनगरमा केही वृद्धहरू पनि छन् । यद्यपि बाहिर सुखी देखिए पनि मनभित्र खुसी छैनन् । आफ्नो सन्तानको खुसीकै लागि उनीहरू बाँचेर बसिरहेका छन् । फिल्मको कथालाई बालकृष्णकै माध्यमबाट भनिएको छ ।

“हामीले एक्लो अभिभावकको कथालाई सरल प्रस्तुतिमार्फत फिल्ममा भनेका छौँ । यसले भरिपूर्ण मनोरञ्जन दिन्छ नै साथी हलबाहिर आउँदासम्म प्रभाव पार्छ भन्ने विश्वास छ”, निर्देशक भट्टराईले भन्नुभयो ।

अघिल्लो फिल्महरूमार्फत प्राप्त गरेको विश्वासलाई घट्न नदिने कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँले जानकारी दिनुभयो । “फिल्म हेर्दाको समय र पैसा खेर जाँदैन । हामीले विश्वास बढाउने काम गरेका छौँ ।

दर्शकले मनोरँजनसँगै हाम्रो समाजको छुट्टै रुप देख्न पाउनुहुनेछ”, कार्यकारी निर्माता बानियाँले भन्नुभयो । षट्कोण आर्टस प्रालिको ब्यानारमा फिल्मलाई दीपेश खत्रीले निर्माण गर्नुभएको हो ।