सवारी नियम उल्लङ्घन गरेका चालकबाट १८ लाख राजस्व सङ्कलन

बागलुङ, १२ कात्तिक । चालु आर्थिक वर्षको तीन महिनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले सवारी नियम उल्लङ्घन गर्ने चालकलाई गरेको कारबाहीबाट रु १८ लाख ९७ हजार राजस्व सङ्कलन गरेको छ ।

गत साउन, भदौ र असोज महिनामा मात्रै ट्राफिक नियम उल्लङ्घन गरेका दुई हजार आठ सय ५० चालकबाट सो राजस्व सङ्कलन गरिएको ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीले बताउनुभयो ।

कारबाही पर्नेमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । उक्त अवधिमा नौ सय ७९ मोटरसाइकलबाट रु ६ लाख ३९ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । तीन सय ८५ कार र जीपबाट रु तीन लाख ८८ हजार, तीन सय ४९ ट्रक तथा टिपरबाट रु दुई लाख ४० हजार, चार सय ९३ ट्र्याक्टरबाट रु तीन लाख ४२ हजार, चार सय १९ बसबाट रु दुई लाख ७४ हजार पाँच सय र अन्य २२ सवारीसाधनबाट १३ हजार गरी रु १८ लाख ९७ हजार राजस्व सङ्कलन भएको हो ।

ट्राफिक प्रहरी प्रमुख केसीले मदिरा सेवन गरी सवारी साधन चलाउने, सवारी चालक अनुमतिपत्र र बिलबुकबिना चलाउने, दु्रत गतिमा चलाउने, सिट क्षमताभन्दा बढी यात्रु राख्नेलगायत चालक सवारीलाई कारबाही गरिएको बताउनुभयो । उहाँले चाडपर्वको समयमा मापसे परीक्षणलाई बढी प्राथमिकता दिएको पनि जानकारी गराउनुभयो ।