एमाले अध्यक्ष ओली र नेता भीम रावलको एउटै प्रश्न– ‘भारतीय ज्यादतीबारे सरकार किन मौन ?’

काठमाडौँ, १२ कात्तिक । गठबन्धन सरकार भारतको ज्यादतीविरुद्ध मौन बसेकोप्रति नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र अर्का नेता भीम रावल प्रश्न उठाउनु भएको छ । पछिल्लो समय ट्विटरमा सक्रिय दुबै नेताले भारतीय ज्यादतीबारे प्रधानमन्त्री शेरबहादुर देउवाको मौनता कहिलेसम्म भन्दै प्रश्न गर्नुभएको छ ।

महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक चौडा गर्ने क्रममा शुक्रवार विस्फोट गराउँदा दार्चुलाको व्यास गाउँपालिका २ का ९ वर्षीय बालक पवन महराको मृत्यु प्रकरणमा सरकार मौन बसेको भन्दै दुबै नेताले ट्विटरमार्फत असन्तुष्टि व्यक्त गर्नुभएको हो । शुक्रवार दार्चुलाको सीमा क्षेत्रमा भारतले सडक कटानका लािग विस्फोट गराउँदा ढुंगा उछिटिएर नेपालतर्फ आएको थियो । सोही ढुंगाले लागेर १४ वर्षका महराको मृत्यु भएको थियो ।

‘तुइन काटेर गत वर्ष जयसिंह धामीलाई मारिएको घटनामा जस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म,’ अध्यक्ष ओलीले प्रश्न गर्नुभएको छ,’ ‘ढुंगा लागेर १४ वर्षीया बालिका सरिना महरा सहित स्थानीय नागरिक घाइते भएका छन् । घटनाको तत्काल छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन, दोषीमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु ।’

रावलले पनि ट्विटरमार्फत असन्तुष्टि व्यक्त गर्नुभएको छ । ‘दार्चुलाका जयसिंह धामीलाई भारतीयले तुइन खुस्काइ महाकालीमा बगाएको १ वर्ष बित्दा नबित्दै सडक निर्माणमा गरेको विस्फोटको ढुंगा लागी ९ वर्षीय पवन महराको दुःखद निधन भएको छ । १४ वर्षीया सरिना महरा घाइते भएकी छन्। सिमानामा यस्तो ज्यादती हुँदा परराष्ट्र मन्त्रालय किन मौन रु घाँटी कसले अँठ्यायो,’ रावलले प्रश्न गर्नुभएको छ ।

यसअघि भारतीय एसएसबीले महाकाली नदी तर्ने क्रममा तुइन काट्दा जयसिंह धामी गत महाकालीमा बगेर बेपत्ता भएको पनि एक वर्ष भएको उल्लेख गर्नुभएको छ । तर, यी दुई घटना हुँदा समेत प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्रालय दुवै बोलेका छैनन्।