बेलझुण्डी गौशालामा छ सयभन्दा बढी गाईको सामूहिक पूजा

काठमाडौँ, कार्तिक २३ । यमपञ्चकअन्तर्गत गाईतिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालामा छ सयभन्दा बढी गाईको सामूहिक पूजा गरिएको छ । योगी आदित्यनाथ फाउन्डेसनद्वारा सञ्चालित गौशालामा सोमबार स्थानीयवासी तथा भक्तजनको सहभागितामा गाईको पूजा गरिएको हो । फाउन्डेसनका अध्यक्ष भोलानाथ योगीका अनुसार प्रत्येक वर्ष गाईतिहारका दिन गौशालामै सामूहिक रूपमा गाईपूजा गर्ने परम्पराअनुसार यस वर्ष पनि कार्यक्रम आयोजना गरिएको हो ।

गाईपूजाका अवसरमा लक्ष्मीको हवन तथा पूजासमेत गरिएको थियो । सो अवसरमा विभिन्न दाताले गौशालामा रहेका गाईलाई खानासमेत उपलब्ध गराएका थिए ।

विश्वविद्यालयको जग्गा भाडामा लिएर सञ्चालन गरिएको उक्त गौशालामा छ सयभन्दा बढी गाईगोरु रहेका छन् । गौशाला सञ्चालन तथा पशुहरूको नियमित आहार व्यवस्थापनमा भने आर्थिक र व्यावहारिक चुनौती रहेको अध्यक्ष योगीले बताउनुभयो ।

गाईगोरुको खानपान र हेरचाहका लागि आवश्यक स्रोत जुटाउन कठिन भइरहेको उहाँको भनाइ छ । विभिन्न दाताको सहयोगकै भरमा गौशाला सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।

धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको गाईतिहारका अवसरमा गरिने यस्ता पूजाले गाईप्रतिको धार्मिक आस्था र संरक्षणको परम्परालाई निरन्तरता दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *