धान भित्र्याउने चटारोले किसानलाई तिहार मनाउने फुर्सद छैन

काठमाडौँ, कार्तिक २४ ।  धानबाली भित्र्याउने मुख्य समय र तिहार पर्व एकैपटक परेपछि भोजपुरका किसानलाई चाडपर्वभन्दा खेतीपातीको कामले बढी व्यस्त बनाएको छ । पाकेको धान काट्ने, सुकाउने र सुरक्षित रूपमा भण्डारण गर्ने कामको चाप बढ्दा किसानलाई तिहारको रमझममा सहभागी हुनसमेत फुर्सद मिलेको छैन ।

भोजपुर नगरपालिका ५ का किसान रुपनारायण फुयालले धान भित्र्याउने काममा व्यस्त हुनुपर्दा तिहार आएको अनुभूतिसमेत गर्न नपाएको बताउनुभयो । चाडपर्वमा परिवारसँग बसेर रमाइलो गर्ने चाहना भए पनि पाकेको बाली सुरक्षित रूपमा घरमा भित्र्याउनुपर्ने बाध्यताले खेतीपातीलाई प्राथमिकता दिनुपरेको उहाँको भनाइ छ ।

उहाँका अनुसार कात्तिक १६ गतेदेखि किसानले अर्मपर्म गरेर धान भण्डारणको काम सुरु गरेका हुन् । एकअर्काको खेतमा पालैपालो सहयोग गर्दै धान भित्र्याउने काम भइरहे पनि अझै सम्पन्न हुन सकेको छैन । यही गतिमा काम गर्दा मङ्सिर १० देखि १५ गतेसम्म धान भण्डारणकै काममा व्यस्त हुनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

किसान करुणा थापाले पनि धान भित्र्याउने समयमा आवश्यक कामदार पाउन समस्या भइरहेको बताउनुभयो । गाउँमा खेतीपातीका लागि जनशक्ति अभाव हुँदा धान भण्डारणको काम प्रभावित भएको उहाँको भनाइ छ । एक किसानको खेतको काम सकिएपछि मात्रै अर्को किसानको पालो आउने भएकाले पनि धान भित्र्याउन ढिलाइ भइरहेको उहाँले बताउनुभयो ।

धान काट्ने, बिटा बाँध्ने, खेतबाट घरसम्म ओसार्ने, झाट्ने, सुकाउने र भण्डारण गर्नेसम्मका काममा धेरै श्रम र समय खर्चिनुपर्ने किसान बताउँछन् । अर्मपर्मबाट काम गर्दा पनि सीमित जनशक्तिका कारण सबै किसानको धान एकै समयमा भित्र्याउन सम्भव नभएको उनीहरूको भनाइ छ ।

किसान अनुराग पोखरेलले धान पाक्ने र भित्र्याउने समय तिहारसँगै परेकाले ग्रामीण क्षेत्रका किसानलाई दोहोरो चटारो परेको बताउनुभयो । एकातिर वर्षभरको मेहनतबाट उत्पादन भएको धान सुरक्षित राख्नुपर्ने र अर्कातिर चाडपर्व मनाउने चाहना भए पनि खेतीपातीको कामले पर्याप्त समय दिन नसकिएको उहाँले बताउनुभयो ।

धानबाली भित्र्याउने समय र चाडपर्व एकैपटक पर्दा भोजपुरका किसान यस वर्ष तिहारको उल्लासभन्दा कृषि कर्ममै बढी समय बिताउन बाध्य भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *