भद्रपुरमा प्रकृति संरक्षणको सन्देशसहित आकर्षक काली पूजा पण्डाल
झापा । झापाको भद्रपुर नगरपालिका–६ कन्हाचोकमा १०औँ श्री सार्वजनिक काली पूजाका अवसरमा प्रकृति संरक्षणको सन्देशसहित आकर्षक पूजा पण्डाल निर्माण गरिएको छ ।
बङ्गाली समुदायका युवाले स्थापना गरेको क्लब ‘बाङ्ग्ला भद्रपुर’ले आयोजना गर्दै आएको पूजामा यस वर्ष ‘प्रकृति संरक्षणमा जिम्मेवार बनौँ, मानव भविष्य सुरक्षित बनाऔँ’ भन्ने नारालाई मुख्य विषयवस्तु बनाइएको छ ।
प्राकृतिक वातावरणको झल्को दिने गरी वनजङ्गलको स्वरूपमा तयार पारिएको पण्डालमा बाँसका आकृति, माटाका घैँटा, खुत्रुके तथा विभिन्न चराचुरुङ्गीका प्रतिमा राखिएका छन् । थर्मकलबाट निर्माण गरिएका चराचुरुङ्गीका आकृतिले पण्डाललाई थप आकर्षक बनाएका छन् ।
जलवायु परिवर्तनका कारण बढ्दै गएका प्राकृतिक विपद् र जोखिमबारे जनचेतना फैलाउने उद्देश्यले पण्डालमा विभिन्न जानकारीमूलक प्लेकार्डसमेत राखिएका छन् । ती सामग्रीमार्फत जलवायु परिवर्तनका असर र त्यसबाट बच्ने उपायबारे सर्वसाधारणलाई जानकारी दिने प्रयास गरिएको क्लबका अध्यक्ष निर्मल घोषले बताउनुभयो ।
उहाँका अनुसार काली पूजालाई धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी सामाजिक चेतना र वातावरण संरक्षणको सन्देश प्रवाह गर्ने माध्यमका रूपमा विकास गर्न खोजिएको हो । प्रकृतिको संरक्षण गर्न सके मात्रै भविष्यमा आउन सक्ने विपद् तथा जोखिम न्यूनीकरणमा सहयोग पुग्ने सन्देश पण्डालमार्फत दिन खोजिएको उहाँले बताउनुभयो ।
क्लबले विगतका वर्षमा पनि विभिन्न विषयवस्तुमा आधारित पण्डाल निर्माण गर्दै आएको छ । अघिल्लो वर्ष नेपाली राष्ट्रिय क्रिकेट खेलाडीका आकृति समावेश गरिएको पण्डालले चर्चा पाएको थियो भने त्यसअघि केदारनाथ मन्दिरको स्वरूपमा पण्डाल निर्माण गरिएको थियो ।
पूजाको अवसरमा कात्तिक २७ गते स्थानीय तथा भारतीय कलाकारको सहभागितामा सांगीतिक कार्यक्रमसमेत आयोजना गरिने क्लबका उपाध्यक्ष विजय साहले जानकारी दिनुभयो ।
पण्डाल निर्माण, विद्युत् तथा बत्तीको सजावट र सांस्कृतिक कार्यक्रमलगायत व्यवस्थापनका लागि करिब रु आठ लाख ५० हजार खर्च हुने अनुमान गरिएको क्लबका सदस्य सञ्जय आइचले बताउनुभयो ।
विगत १० वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस पूजाले भद्रपुरको धार्मिक तथा सांस्कृतिक गतिविधिलाई सक्रिय बनाउनुका साथै विभिन्न समुदायबीच आपसी सद्भाव र एकता अभिवृद्धिमा समेत योगदान पुर्याउँदै आएको क्लबका सदस्य अरुप घोषले बताउनुभयो ।
