ललितपुरको ३८० वर्ष पुरानो कात्तिक नाच आजदेखि शुरु

ललितपुर, १३ कात्तिक । ललितपुरमा हरेक वर्ष तिहार लगत्तै मञ्चन गरिने ऐतिहासिक कात्ति प्याखं (कात्तिक नाच) आज आइतवारदेखि शुरु हुँदैछ । पाटन मंगलबजारस्थित कात्तिक डबलीमा यो नाच मञ्चन हुने गर्दछ ।

यो वर्ष कात्तिक नाच १० दिन प्रदर्शन गर्ने तालिका कार्तिक नाच संरक्षण समितिले सार्वजनिक गरेको छ । पहिले पहिले यो नाच २७ दिनसम्म लगातार प्रदर्शन गर्ने चलन थियो । पछि प्रदर्शन गर्ने दिन घट्दै गयो । यो वर्ष १० दिन प्रदर्शन गर्ने तयारी रहेको छ ।

आजभन्दा करिब ३८० वर्ष अघि यो नाच शुरु भएको थियो । ललितपुरका तत्कालीन राजा सिद्धिनरसिंह मल्लले यो नाच आरम्भ गरेको इतिहास पाइन्छ । यसको रचना भने सिद्धिनरसिंह मल्लका गुरु हरिवंश राजोपाध्यायले गरेको बताइन्छ ।

ललितपुरमा हरेक वर्ष तिहार लगत्तै एउटा ठूलो पर्वकै रूपमा कात्तिक नाच प्रदर्शन गर्ने परम्परा रहँदै आएको छ । मंगल बजारमा यही नाच मात्रै देखाउन ‘कात्तिक डबली’ भनी छुट्टै डबली बनाइएको छ । यो नाच त्यही डबली बाहेक अन्य ठाउँमा देखाइँदैन ।

यो नाचमा विशेष गरी भगवान बिष्णुका विभिन्न अवतारसँग सम्बन्धित सन्दर्भहरूलाई नाचका रूपमा प्रदर्शन गर्ने चलन छ । आज नाचको पहिलो दिन ‘भक्त सुरदास प्याखं’ प्रदर्शन गरिन्छ । भोलि कार्तिक १४ गते बाथः प्याखं प्रदर्शन गरिन्छ भने एवंरितले युद्ध कला (शितज्वर विषम ज्वर युद्ध), देवी प्याखं, जल शयन (मधु कटैव वध), वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण लीला र दधि लीला नाच प्रदर्शन गर्ने योजना रहेको छ ।

यो नाचमा भोलि प्रदर्शन गरिने बाथः प्याखं र अन्तिमतिर प्रदर्शन गरिने नृसिंह अवतारलाई अत्यन्त महत्वपूर्ण र रोचक नाचका रूपमा लिने गरिन्छ । नाच संरक्षण समितिका अनुसार आजदेखि हरेक राति ७ बजे यो नाच शुरु हुन्छ । कात्तिक नाच राति नै प्रदर्शन गर्ने परम्परा रहिआएको छ ।

३८० वर्ष अघि शुरु भएदेखि यो नाच आजसम्म निरन्तर प्रदर्शन भइ नै रहेको बताइन्छ ।