दैनिक जीवनका विभिन्न क्षेत्रमा रोबोटको प्रयोग विस्तार गर्दै सिङ्गापुर

स्वचालित प्रविधि

काठमाडौँ, कार्तिक २६ । यातायात, विमानस्थल, आवासीय भवन तथा सार्वजनिक सुरक्षा व्यवस्थालगायत क्षेत्रमा रोबोटको प्रयोग विस्तार गर्दै सिङ्गापुरले स्वचालित प्रविधिलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउने प्रयास गरिरहेको छ । अनुसन्धान, विकास र व्यावसायिक प्रयोगमा सक्रिय ३०० भन्दा बढी रोबोटिक्स कम्पनी रहेको सिङ्गापुरले विभिन्न क्षेत्रमा जनशक्तिको सहयोगीका रूपमा रोबोट परिचालन गर्ने तयारी गरेको हो ।

सिङ्गापुरको दक्षिणी तटमा रहेको पर्यटकीय टापु सेन्टोसा स्वचालित सवारीसाधन परीक्षणको नयाँ केन्द्र बनेको छ । सन् २०२७ को सुरुदेखि पर्यटक तथा आगन्तुकले राइड हेलिङ एपमार्फत स्वचालित मिनीबस बुक गरी टापुभित्रका यातायात केन्द्र, होटल तथा पर्यटकीय स्थलसम्म यात्रा गर्न सक्नेछन् ।

सेन्टोसा विकास निगम र राइड–हेलिङ कम्पनी टाडाबीचको सहकार्यमा सञ्चालन हुने उक्त सेवा चीनको ग्वाङ्झाउस्थित वेराइड कम्पनीले विकास गरेका मिनीबसबाट उपलब्ध गराइनेछ । आठ जनासम्म यात्रु बोक्न सक्ने ती बसले सडकमा पैदलयात्री तथा अन्य सवारीसाधन देखेपछि गति कम गर्ने र आवश्यकताअनुसार दिशा परिवर्तन गर्ने क्षमता राख्छन् ।

हालै गरिएको परीक्षणमा वर्षाका बीच पनि बसले सहज रूपमा यात्रा गरेको थियो । बसभित्र जडान गरिएको स्क्रिनमा वरपरका सवारीसाधन तथा पैदलयात्रीको वास्तविक समयको त्रिआयामिक दृश्य देखिने व्यवस्था छ ।

सेन्टोसामा स्वचालित बस परीक्षण हुन लागेको यो पहिलोपटक भने होइन । सन् २०२५ जुलाईदेखि वेराइडका सवारीसाधनलाई रिसोर्ट्स वल्र्ड सेन्टोसाको शून्य दशमलव ४९ वर्ग किलोमिटर क्षेत्रमा सञ्चालन अनुमति दिइएको थियो । नयाँ परीक्षणले सन् २०२७ देखि टापुको पश्चिमी क्षेत्रसमेत समेट्ने र क्रमशः अन्य क्षेत्रमा विस्तार हुने योजना छ ।

हाल प्रत्येक बसमा तालिमप्राप्त सुरक्षा कर्मचारी खटाइनेछ । वेराइडका अन्तरराष्ट्रिय व्यापार निर्देशक निकोलस टेका अनुसार आवश्यक परीक्षण पूरा गरी सुरक्षित सञ्चालन प्रमाणित भएपछि भविष्यमा पूर्ण चालकविहीन सेवा सञ्चालन गर्न सकिनेछ । सेन्टोसा विकास निगमका प्रमुख कार्यकारी अधिकृत थियेन क्वि एन्गले सेन्टोसालाई नयाँ यातायात प्रविधि परीक्षण गर्ने ‘जीवित प्रयोगशाला’ बनाउने लक्ष्य रहेको बताउनुभएको छ ।

सिङ्गापुरका अन्य क्षेत्रमा पनि रोबोटको प्रयोग र परीक्षण भइरहेको छ । पङ्गगोल डिजिटल जिल्लामा सामान ढुवानी, सरसफाइ तथा सुरक्षा गस्तीका लागि स्वचालित रोबोट परीक्षण गरिँदैछ भने जुराङ इनोभेसन जिल्लामा स्वचालित निर्माण उपकरणको परीक्षण भइरहेको छ । समुद्री क्षेत्रमा स्वचालित जहाज र ड्रोनसमेत परीक्षणका क्रममा छन् ।

दैनिक सार्वजनिक सेवामा पनि रोबोटको प्रयोग बढ्दो छ । यस वर्ष अगस्टको अन्त्यदेखि सेप्टेम्बरको मध्यसम्म लिटिल इन्डिया एमआरटी स्टेसनमा एक दशमलव २७ मिटर अग्लो मानवरूपी रोबोट परिचालन गरिएको थियो । हरियो भेस्ट लगाएको उक्त रोबोटले यात्रुलाई गन्तव्यसम्म पुग्ने बाटो पहिल्याउन सहयोग गरेको थियो ।

चाङ्गी विमानस्थलमा सरसफाइका लागि रोबोट प्रयोग भइरहेको छ । सामाजिक सेवा संस्था लायन्स बेफ्रेन्डर्सले वृद्धवृद्धाको बसोबास बढी भएका आवासीय भवनमा सामान पुर्‍याउन स्वचालित रोबोट परिचालन गरेको छ । ती रोबोटले लिफ्टसमेत आफैँ प्रयोग गरी खाना, औषधि तथा अन्य आवश्यक सामग्री सम्बन्धित घरसम्म पुर्‍याउने गरेका छन् ।

सार्वजनिक सुरक्षाका क्षेत्रमा पनि रोबोटको प्रयोग विस्तार भइरहेको छ । गत सेप्टेम्बरमा सिङ्गापुरले होम टिम ह्युमनोइड रोबोटिक्स सेन्टर सञ्चालनमा ल्याएको थियो । उक्त केन्द्रमा विस्फोट भएका स्थानको अनुसन्धान, खतरनाक तरल पदार्थको व्यवस्थापन तथा कारागारभित्र प्रतिबन्धित वस्तुको खोजीजस्ता जोखिमपूर्ण काम गर्न रोबोटलाई तालिम दिइन्छ । यसबाट सुरक्षाकर्मीलाई जोखिमपूर्ण क्षेत्रमा प्रत्यक्ष खटाउनुपर्ने अवस्था कम हुने अपेक्षा गरिएको छ ।

सन् २०२८ सम्ममा सुरक्षाकर्मीसँगै वास्तविक कार्यक्षेत्रमा परिचालन गर्न सकिने पहिलो मानवरूपी रोबोट तैनाथ गर्ने सिङ्गापुरको योजना छ ।

सिङ्गापुर आर्थिक विकास बोर्डले यस वर्ष सार्वजनिक गरेको प्रतिवेदनअनुसार मुलुकमा अनुसन्धान तथा विकास, प्रविधि निर्माण र प्रयोगमा संलग्न ३०० भन्दा बढी रोबोटिक्स कम्पनी सञ्चालनमा छन् । ती कम्पनीले उत्पादन, स्वास्थ्य सेवा, आतिथ्य, महत्त्वपूर्ण पूर्वाधार, ढुवानी तथा आपूर्ति व्यवस्थापनलगायत क्षेत्रमा काम गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *